सभामुख र प्रमुख सचेतकहरूको बैठक ठोस निष्कर्षमा पुगेन

काठमाडौँ । सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारी र प्रतिनिधिसभाको अवरोध अन्त्य लगायतका विषयमा राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग आज गर्नुभएको छलफल कुनै ठोस निष्कर्षमा पुग्न सकेन ।
संघीय संसद् सचिवालय सिंहदरबारमा भएको बैठकपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सरकारको जेठ १ गते प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रमलाई सहज रुपमा प्रस्तुत गर्ने वातावरण बनाउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने माथि संसदीय छानबिन हुनुपर्ने आफूहरूको अडान सभामुखसमक्ष दोहोर्याएको बताउनुभयो ।
उहाँले नेपाली काँग्रेसले आफ्ना माग सरकार र सभामुखसँग राखेको भन्दै सदन सुचारु गर्ने विषय सरकारको भूमिकामा भर पर्ने पनि बताउनुभयो ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षले उठाएको संसदीय छानबिन समितिको विषय कानून संवत् नभएकोले काँग्रेसले समितिको नाममा सरकार माग गरेको र त्यो सम्भव नभएको दाबी गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद्को गतिरोध अन्त्य, संसद्मा सरकारको नीति तथा कार्यक्रमको सहज प्रस्तुति र वार्ता तथा संवादमार्फत समस्याको समाधान लगायतका विषयमा छलफल भएको बताउनुभयो ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नीति तथा कार्यक्रममा संसदमा कसरी अगाडि बढ्ने, संसदीय छानविन समिति र सहकारी प्रकरणमा जोडिएका जिवी राईको खोजीका विषयमा छलफल भएको सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।
यसअघि, संसद्को चालु वर्षे अधिवेशनको पहिलो बैठकमा नै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि उठेको सहकारीको रकम हिनामिनाको विषयमा संसदीय छानबिन हुनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेको थियो ।
जेठ १ गते बस्ने संघीय संसद्को दुवै सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएकाले सभाको अवरोध अन्त्यका लागि सभामुख घिमिरेले बैठक बोलाउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्