भीमनारायण गोल्डकप : उपाधिका लागि एपीएफ र विर्तामोड भिड्दै
धनकुटा । धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १६ औँ संस्करणको उपाधिका लागि विभागिय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब र विर्तामोड युनाइटेड क्लब झापा भिड्दै छन् ।
खेल आज दिउँसो २ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । सशस्त्र प्रहरीको एपीएफ क्लब पहिलो सेमिफाइनलमा बिहीबार राष्ट्रिय जागृति फुटबल क्लबलाई ट्राईबेकरमा ३–२ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो । यस्तै विर्तामोड युनाइटेड शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३–० गोल अन्तरले हराउँदै विर्तामोड फाइनलमा पुगेको हो।
दर्शकको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन्। सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा फाइनलमा पुगेका दुवै टिम सहित चारतारे युथ क्लब मोरङ, त्रिभुवन आर्मी क्लब काठमाडौँ, राष्ट्रिय जागृति क्लब सुनसरी, बुटवल लुम्बिनी युथ क्लब बुटवल, आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान र सल्हेस युथ क्लब सिराहा सहभागी भएको आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिनुभयो।
२०५५ सालमा शुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ। तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ। श्रेष्ठलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरिसकेको छ ।






प्रतिक्रिया राख्नुहोस्