झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार, आइसियुमा उपचार हुँदै
भद्रपुर, झापा । झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ ।
उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि आज बिहान करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो ।
दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारीमाथि दमक–५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको हो ।
उनको पेटमा एक राउन्ड गोली लागेको बताइएको छ । घाइते उनको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । अस्पताल पुगेका स्थानीय पत्रकार सुदीप अधिकारीका अनुसार चिकित्सकले उनको पेटबाट एउटा गोली निकालिसकेको छ । उनको हाल आइसियुमा उपचार भइरहेको छ ।
गोली प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । गोली चलेको विषयमा घटना बुझ्न प्रहरी टोली अस्पताल पुगेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्