प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले आमसञ्चार माध्यमलाई नियन्त्रण गर्नेभन्दा पनि स्वनियमन बस्नुपर्ने बताउनुभयो ।
“प्रेस जगतसँग मेरो आग्रह छ, प्रेस स्वतन्त्रताको रक्षा गरौँ र उपभोगको सहज वातावरण पनि बनाऔँ, सँगसँगै मिथ्या सूचनाको बाढीलाई रोक्ने काम पनि गरौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “असत्य, भ्रामक र मिथ्या सूचनाका कारण नेपाली समाजलाई भ्रमित तुल्याउने, नकारात्मक मानसिकताको विकास गराउने, सामाजिक सद्भाव बिथोल्ने वा नेपाली सभ्यता र संस्कृतिमाथि हमला गर्ने किसिमका सामग्रीको प्रकाशन प्रसारणका लागि स्वनियमन प्रणाली विकास गर्न आमसञ्चार माध्यमहरूलाई मेरो आग्रह छ ।”
महासङ्घले प्रेस स्वतन्त्रतालाई प्रमुख सवालका रूपमा लिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक स्वतन्त्रता स्वयं पत्रकारिता क्षेत्रको सहभागितामा समेत प्राप्त भएकाले प्रेस स्वतन्त्रता यसको अनिवार्य पक्ष बन्न पुगेको बताउनुभयो ।
“कुनै पनि व्यवस्था जनपक्षीय र लोकतान्त्रिक हो वा होइन भनेर मापन गर्ने बलियो आधार त्यो व्यवस्थामा प्रेस स्वतन्त्रता र पत्रकारको अधिकारको सुनिश्चितता छ वा छैन भन्ने पनि हो”, उहाँले भन्नुभयो, “हिजोको राजतन्त्रात्मक व्यवस्थामा समाचार लेखेकै कारण पत्रकार जेल जानुपर्ने, मारिनुपर्ने, समाचार सामग्री सेन्सर सीप गराउनुपर्ने तथा सञ्चार साधन अवरुद्ध गरिने अवस्था अन्त्य भएको छ ।”
नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई आफ्नो प्रस्तावनामै उल्लेख गरेर संस्थागत गरिसकेकाले प्रेस स्वतन्त्रता सङ्घीय लोकतान्त्रिक गणतन्त्रकै एउटा अङ्ग बनेको बताउँदै प्रधानमन्त्री दाहालले अब कसैले पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्न नसक्ने स्पष्ट पार्नुभयो ।
“हामीले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि हो, जसको संलग्नताविना देशमा यति ठूलो राजनीतिक उपलब्धि प्राप्त गर्न सम्भव थिएन”, उहाँले भन्नुभयो, “अब पत्रकारिता क्षेत्रसमेत सहभागी भएर प्राप्त भएका उपलब्धिको रक्षा गर्दै राज्यमाथि निरन्तर खबरदारी र निगरानी गर्ने मिसन बनाउनुपर्छ ।”
सुशासन, सामाजिक न्याय र समृद्धिका एजेन्डामा सरकारको जोड रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले वर्तमान सरकार प्रेस जगत सँग हातेमालो गर्दै परिवर्तनका एजेन्डालाई संस्थागत गर्न र देशमा द्रुत आर्थिक वृद्धि हासिल गर्न चाहेको बताउनुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्