उपराष्ट्रपति यादव र यूरोपेली सङ्घकी राजदूत लोरेज्नोबीच शिष्टाचार भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि यूरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेज्नोले शिष्टाचार भेट गर्नुभएको छ ।
उपराष्ट्रपति यादव र ईयूका राजदूत लोरेज्नोबीच लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज (बिहीबार) शिष्टाचार भेट भएको हो ।
भेटमा शुभकामना आदानप्रदानपछि द्विपक्षीय सम्बन्ध,जलवायु परिवर्तन लगायतका विषयमा महत्वपूर्ण छलफल भयो । उपराष्ट्रपति यादवले नेपाल र युरोपेली संघ (ईयू) बिच सन् १९७४ यता कायम रहेको घनिष्ठ, सौहार्द्रपूर्ण एवम् मैत्रीपूर्ण सम्बन्धबाट आफू सन्तुष्ट रहेको उल्लेख गर्दै नेपालले ईयूसँगको साझेदारीलाई उच्च महत्व दिँदै आएको बताउनु भयो ।
‘यो वर्ष हामीले नेपाल र ईयूबीच कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण वार्षिकोत्सव मनाइरहेका छौँ । यस सुखद उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु ’ उहाँले भन्नुभयो, ‘ईयू नेपालको प्रमुख विकास साझेदार हो । स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई र ग्रामीण विकासमा ईयू समर्थित कार्यक्रमहरू हाम्रा लागि उपयोगी र महत्वपूर्ण छन् । मलाई आशा छ अगामी दिनहरूमा सहयोगको दायरा र परिमाण नेपालका उत्पादनशील क्षेत्रहरूमा विस्तार र वृद्धि हुँदै जानेछन् ।’

विशेषगरी कर्णाली प्रदेशमा ईयूको सहयोग अन्तरगतका आयोजनाले ती दुर्गम क्षेत्रका सर्वसाधारणलाई धेरै फाइदा पुगेको उहाँले बताउनु भयो । ‘नेपाल र ईयूले लोकतन्त्र, स्वतन्त्रता र बहुपक्षीयताको महत्व जस्ता साझा मूल्यहरूमा विश्वास राख्दछ ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘महामारी र जलवायु परिवर्तन लगायत विश्वले पछिल्लो समय सामना गरिरहेको प्रकृतिका चुनौतीहरूले बहुपक्षीय सहकार्य पहिलेभन्दा बढी आवश्यक भएको सङ्केत गरेकोले यी विषयमा थप सहकार्य गर्न नेपाल तत्पर छ ।’
उहाँले नेपाललाई राजनीतिक रूपान्तरणको वर्तमान चरणमा पुग्न अन्तर्राष्ट्रिय समुदायबाट धेरै सद्भाव र समर्थन प्राप्त भएको पनि बताउनु भयो । ‘नेपालको ऐतिहासिक राजनीतिक उपलब्धिहरू कायम राखी मुलुकको आर्थिक आकाङ्क्षा पूरा गर्न ईयूले आफ्नो बहुमूल्य सहयोग जारी राख्ने विश्वास व्यक्त गर्दछु ’ उहाँले भन्नुभयो, ‘मलाई आशा छ, तपाईँ (महामहिम) को कार्यकालमा नेपाल–ईयू सम्बन्ध थप सुदृढ, प्रगाढ एवं बलियो हुने र नेपाललाई प्राप्त हुने विकास सहयोगको निरन्तरतामा सकारात्मक प्रभाव पर्नेछ । ’
भेटमा नेपालका लागि यूरोपेली संघ (इयू) की राजदूत भेरोनिक लोरेन्जोले नेपालको संस्कृति धेरै विकसित रहेकोमा प्रशंसा गर्दै ईयूले सामाजिक समावेशीकरण र शिक्षा क्षेत्रमा काम गर्न चाहेको बताउनुभयो । ‘ नेपालले लगानी र आर्थिक वृद्धि गरी कृषिसहित विभिन्न क्षेत्रको विकासमा जोड दिनु सकारात्मक हो ।
नेपालमा ईयूको सहयोग निरन्तर रहने छ ’ उहाँले भन्नुभयो, ‘यसै महिना ईयूले भारतमा रहेका सय भन्दा बढी कम्पनीलाई सहभागिता गराई ‘बिजनेस फोरम’ सम्मेलनको आयोजना गर्ने तयारी गर्दैछ ।’ उहाँले नेपालमा ईयूले धेरै पछाडि परेको सुदूरपश्चिम, कर्णाली तथा मधेश प्रदेशमा आफ्नो सहयोगलाई केन्द्रित गरेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्