तपाईँ सुन्दै हुनुहुन्छः

गर्मी बढेसँगै सल्यानका अधिकांश स्थानमा खानेपानीको हाहाकार 

सल्यान । गर्मी बढेसँगै सल्यानका अधिकांश स्थानमा खानेपानीको हाहाकार हुन थालेको छ । लामो समयसम्मको सुख्खा मौसमका कारण धेरै मुहान सुक्न थालेपछि यहाँ स्थानीय एक दुई घण्टाको पैदल हिँडेर खानेपानीको जोहो गर्न बाध्य भएका छन् ।

लिफ्ट खानेपानीको मोटर बिग्रिएपछि कपुरकोट गाउँपालिका–१ को लापु लामपोखरा, खामागारे, कोसगैराका एक सय ५० घरधुरी परिवारलाई खानेपानी सङ्कलन गर्नमै दिन जान थालेको छ । बस्तीदेखि करिब एक किलोमिटर तल देब्रे खोलाको पानी लिफ्टमार्फत दुई वर्षअघि गाउँमा खानेपानी पुगेको थियो तर दुई वर्ष नपुग्दै मोटर बिग्रिएको कपुरकोट गाउँपालिका– १ का नर बहादुर सुनारले बताउनुभयो । उहाँले भन्नुभयो “लिफ्टबाट गाउँमा पानी आएपछि निकै सजिलो भएको थियो तर दुई वर्ष नपुग्दै बिग्रिएपछि पानी बोग्ने दुःखले छोडेन ।”

यस्तै बनगाड कुपिण्डे नगरपालिका–७ संग्रहीमा पनि खानेपानीको हाहाकार भएको छ । खाने पानीकै लागि बिहान ३÷४ बजे उठेर कुवामा गई पालो कुर्नुपर्ने बाध्यता रहेको संग्रहीका सुरेश सिंह राठौरले बताउनुभयो । 

खानेपानी, सिँचाई तथा ऊर्जा विकास कार्यालय सल्यानले जिल्लामा लिफ्ट प्रविधिमा आधारित खानेपानी योजनाको विकल्प नभएको जनाएको छ । कार्यालयका सूचना अधिकारी विपीन ज्ञवालीले भौगोलिक बनावट, सुख्खापन पानीका स्रोत कम हुँदा जिल्लामा लिफ्ट प्रविधि नै आवश्यक रहेको बताउनुभयो । तलको पानीमाथि लिएर वितरण गर्दा लिफ्ट खानेपानी महँगो भए पनि यसको विकल्प नभएको उहाँको भनाइ छ । 

उहाँले स्थानीयमा लिफ्ट प्रविधिबारे प्राविधिक ज्ञान नभएको र विद्युतको भोल्टेजका कारण केही योजनामा समस्या भए पनि मर्मतसम्भार गरेर सही तरिकाले सञ्चालन गरे लिफ्ट खानेपानी वषौँसम्म टिक्ने बताउनुभयो । “खानेपानीका संरचना सबै राम्रा हुन्छन् प्रविधि जडान गरेको केही समयसम्म वारेन्टी हुन्छ, कुनै समस्या नआउँदासम्म पानी चल्छ, बिस्तारै वारेन्टी सकिन्छ, स्थानीयले मर्मत सम्भारमा चासो दिँदैनन् यसले गर्दा लिफ्ट खानेपानीमा केही समस्या आएको हो”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button