तपाईँ सुन्दै हुनुहुन्छः

‘सञ्चार गृह लैङ्गिक मैत्री नहुँदा महिला पत्रकार सङ्कटमा’

काठमाडौँ । महिला पत्रकारहरूले सञ्चार गृहमा काम गर्ने लैङ्गिक मैत्री नीति अवलम्बन नहुँदा पेसाबाटै पलायन हुनुपर्ने स्थिति आएको बताउनुभएको छ ।

आज काठमाडौँमा सञ्चारीका समूह र दलित महिला सङ्घ (फेडो) ले संयुक्त रुपमा आयोजना गरेको ‘मूलधारका सञ्चार माध्यममा महिला सहभागिता र चुनौती’ विषयक कार्यक्रममा पत्रकार महिलाहरूले पेसागत चुनौती र समस्या उजागर गर्नुभएको हो ।

राज्यले निर्धारण गरेको समावेशीमूलक सिद्धान्त अनुकूल मूलधारका सञ्चार माध्यम उदार हुन नसकेको उहाँहरूको अनुभवले बताउँछ । समग्र पत्रकारिता नै सङ्कटमा परेको बेला पत्रकार महिला सबैभन्दा बढी जोखिममा रहेको सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले बताउनुभयो ।

सञ्चार माध्यममा महिला समावेशीको अवस्थामाथि कार्यपत्र प्रस्तुत गर्नुभएकी सञ्चारीका समूहकी उपाध्यक्ष पवित्रा सुनारले आमसञ्चारमा सिमान्तकृत समुदायको सहभागिता अत्यन्त नाजुक रहेको तथ्य पेश गर्नुभयो ।

महिला अधिकारकर्मी दुर्गा शोवले हरेक क्षेत्रमा अन्तर लैङ्गिक समानता आवश्यक रहेको बताउनुभयो । प्रत्येक सञ्चार माध्यमको कार्य संरचनामा उक्त नीति प्रभावकारी ढङ्गले लागू हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

दलित महिला सङ्घ (फेडो) को संस्थापक अध्यक्षसमेत रहनुभएकी शोवले हरेक क्षेत्रमा समान सहभागिता नभएसम्म समावेशी सिद्धान्त अपुरो रहने बताउनुभयो ।

‘आमसञ्चार र समावेशी पत्रकारिता’ पुस्तकका लेखक तारमणि सापकोटाले सञ्चार माध्यममा महिला सहभागिताको स्थिति तथ्याङ्कगत रुपमा प्रष्ट पार्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button