कृषि, पर्यटन र सूचना प्रविधि बजेटको प्राथमिकतामा : मन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा पूर्वाधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताउनुभएकाे छ ।
नेपाल भ्रमणमा रहनुभएका एसियाली विकास बैङ्क (एडिबी) का दक्षिण एसिया क्षेत्र हेर्ने महानिर्देशक ताकेयो कोनेसीसँग मङ्गलवार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले सो कुरा बताउनुभयाे ।
आर्थिक रुपमा शिथिलता भए पनि सरकारले सुधारको प्रयास गरिरहेको भन्दै मन्त्री पुनले गत वर्षभन्दा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर राम्रो हुने प्रक्षेपणहरू भइरहेको र ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने देखिएको बताउनुभयाे । आगामी आर्थिक वर्षमा थप राम्रो गर्न सकिने विश्वास मन्त्री पुनले व्यक्त गर्नुभयाे । उत्पादनमूलक क्षेत्रमा वृद्धि घटेको देखिए पनि पर्यटन क्षेत्रमा १९ प्रतिशतको वृद्धि देखिएको उहाँले बताउनुभयाे । मन्त्री पुनले विश्व बैङ्क र एसियाली विकास बैङ्कको लगानीमा सञ्चालित विकास आयोजनामा खर्चको प्रगति कम रहेको बताउनुभयाे । आन्तरिक र दातृ निकायको लगानीमा सञ्चालित विकास आयोजनामा खर्च बढाउन आफूले आयोजना सम्बद्ध मन्त्रालयहरूसँग निरन्तर संवाद र परामर्श गरिरहेको पनि मन्त्री पुनले बताउनुभयाे ।
नेपालले पछिल्लो १५ वर्षमा ऊर्जा क्षेत्र र सडक पूर्वाधारमा उल्लेख्य विकास गरेको र पहाडमा मध्यपहाडी, तराईमा हुलाकी राजमार्ग र दर्जन सङ्ख्यामा उत्तर–दक्षिण करिडोरमा सडक निर्माण भइरहेको उल्लेख गर्दै ती सडकहरूको निर्माण सम्पन्न भएर सञ्चालनमा आउँदा नेपालको आर्थिक वृद्धिदर निकै राम्रो हुने विश्वास उहाँले व्यक्त गर्नुभयाे ।

महानिर्देशक कोनेसीले एडिबीको लगानीमा सञ्चालित आयोजनाका कामबारे चासो राख्नुभएकाे थियाे । यस्तै उहाँले आगामी १६ र १७ वैशाखमा काठमाण्डौंमा हुने लगानी सम्मेलनमा एडिबीका उपाध्यक्षको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने पनि बताउनुभयाे ।







प्रतिक्रिया राख्नुहोस्