सीमावासीसँग सशस्त्र : झापाकी रानी ऋषिदेवलाई निःशुल्क छात्रवृत्ति प्रदान

झापा । सशस्त्र प्रहरी बल नेपालले झापा गौरीगञ्जकी मुसहर समुदायकी रानी ऋषिदेवलाई छात्रवृत्ति प्रदान गरेको छ ।
सीमा वासीसँग सशस्त्रको सहकार्य अभियानअन्तर्गत झापाको सीमावर्ती गौरीगञ्ज गाउँपालिका– ४ की मेहनती र जेहेन्दार छात्रा रानीलाई एपीएफ स्कुलमा कक्षा १० सम्म निःशुल्क अध्ययन गर्ने पाउने गरी छात्रवृत्ति प्रदान गरिएको हो । उनी स्थानीय गौरिया प्राविमा कक्षा– ३ मा अध्ययनरत छिन् ।
मङ्गलवार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा विभागका विभागीय प्रमुख तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौड्यालले रानीलाई छात्रवृत्ति गर्नुभयो । अति विपन्न परिवारका बुबा–आमासमेत गुमाएकी रानीलाई सङ्गठनले छनोट गरी छात्रवृत्ति प्रदान गरेको जनाइएको छ । सङ्गठनले नेपालमै पहिलो पटक झापाबाट छात्रवृत्ति कार्यक्रमको सुरुवात गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका गणपति तथा प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिनुभयो । आमाबुबा गुमाएकी रानीको आगामी शैक्षिक यात्रा एपीएफ स्कुल हुने उहाँले बताउनु भयो ।
सोही कार्यक्रममा अति विपन्न १५० जना विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालयलाई २ थान खेलकुद सामग्री वितरण गरिएको थियो ।
यसअघि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत चैत ७ गतेदेखि मेचीनगर नगरपालिका १ स्थित तिरिङ्गबाट सीमा क्षेत्रको संयुक्त पैदल यात्रा सुरु गरेको थियो । यो कार्यक्रमलाई गणले निरन्तरता दिँदै आएको छ ।







प्रतिक्रिया राख्नुहोस्