समावेशी अवधारणालाई व्यवहारमा ल्याउन रेडियो नेपालले गरिरहेको प्रयास सहानीय : अध्यक्ष सुवेदी
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले संविधानमा उल्लेख भएको समावेशी अवधारणालाई व्यवहारमा ल्याउन रेडियो नेपालले गरिरहेको प्रयास सह्रानीय रहेको बताउनुभएको छ ।
रेडियो नेपालको ७४ औँ वार्षिक उत्सवका अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुहुँदै उहाँले वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक, प्रादेशिक एवं सामाजिक परम्परा, रहनसहन, संस्कृति एवं पहिचानलाई सम्बोधन गर्न रेडियो नेपालले विविध भाषाका माध्यमबाट गरिरहेको प्रयास उल्लेखनीय रहेको बताउनुभएको हो ।
रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)का अध्यक्षसमेत रहनुभएका सचिव सुवेदीले सत्य, तथ्य र सन्तुलित समाचार तथा लोक संस्कृति, विकास निर्माण, जनचेतना र समकालीन विषयवस्तुमा आधारित कार्यक्रम रेडियो नेपालको पहिचान भएको बताउनुहुँदै उहाँले हालसम्म ९३ प्रतिशत जनसङ्ख्यामा रेडियो नेपालको पहुँच पुगेको उल्लेख गर्नुहुँदै आगामी सोह्रौँ पञ्चवर्षीय योजना भित्र शतप्रतिशत जनसङ्ख्यामा रेडियो नेपालको प्रसारण पहुँच पुग्न विश्वास गर्नुभएको छ ।
सन्देशमा उहाँले रेडियो नेपालले यस वर्ष स्थापना गरेका लुम्बिनी प्रदेशको पाल्पा बगनासकाली र कर्णालीको रुकुम पश्चिम जन्ति बस्ने लेक एफ.एम. रिले प्रसारण केन्द्रहरू सहित ३२ वटा एफ. एम. रिले प्रसारण केन्द्रहरू, ३ वटा मिडियम वेभ र डिजिटल प्लेटफर्म (रेडियो नेपाल अनलाइन, न्युजपोर्टल, ओ.टी. टी. एप, सोसल मिडिया र यु–ट्युव ) मार्फत स्वदेश तथा विदेशमा रहेका रेडियो नेपालका श्रोतालाई २४ सै घण्टा सेवा उपलब्ध गराउँदै आगामी दिनमा भूसतही र डिजिटल प्लेटफर्मका माध्यमबाट अझ परिष्कृत र जनउपयोगी कार्यक्रमहरू थप्दै लैजाने विश्वास व्यक्त गर्नुभयो ।
सचिव सुवेदीले हाम्रो देश बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक भएको तथ्यलाई रेडियो नेपालले आत्मसात गरिरहेको बताउनुहुँदै आमनिर्वाचन, संविधान निर्माण तथा प्राकृतिक प्रकोप, विपद्, महाभूकम्प र कोभिड १९ महामारी जस्ता विशेष समयमा रेडियो नेपालले आफ्नो प्रसारणलाई २४ सै घण्टा सञ्चालन गरी सार्वजनिक प्रसारणको शुरुवात गरिसकेको उल्लेख गर्नुभएको छ ।
सचिव सुवेदीले रेडियो नेपालले हाल वि.सं. २००७ साल देखिका श्रव्य सामग्रीहरूलाई डिजिटल प्रविधिमा रूपान्तरण गरी जीवन पर्यन्त भावी पुस्तालाई विगतको गीत सङ्गीत र रेडियो प्रसारणको इतिहास सम्झाउन हालसम्म करिब पचास हजार श्रव्य सामग्रीहरूलाई डिजिटल रुपमा रूपान्तरण गरी श्रव्य सामग्रीहरूको संरक्षण र संवर्द्धन गर्न क्रियाशील रहेको उल्लेख गर्नुभएको छ ।
सन्देशमा उहाँले विभिन्न कालखण्डमा देशमा भएका राजनीतिक परिवर्तनको उपलब्धिहरूलाई रक्षा गर्दै तिनबाट सिकेको पाठका आधारमा सबै पुस्तालाई समग्र देशको आर्थिक र सामाजिक सम्वृद्धिका लागि आधुनिक नेपालको समावेशी आवाजको रुपमा रहेको रेडियो नेपालले थरी थरीका कार्यक्रमहरू पस्कँदै युग सुहाउँदो गीत / सङ्गीत र मनोरञ्जन पनि प्रदान गर्दै गरिरहेको उल्लेख गर्नुभएको छ ।









प्रतिक्रिया राख्नुहोस्