राजनीतिमा ४० प्रतिशत युवा समेटेर एमाले अगाडि बढ्छ : उपाध्यक्ष पोखरेल
बारा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नगरदेखि केन्द्रको राजनीतिमा ४० प्रतिशत युवा समेटेर एमाले अगाडि बढ्ने बताउनुभएको छ ।
कलैयामा आयोजित एमालेको ११ औँ जिल्ला अधिवेशनलाई सोमबार सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले युवालाई नेतृत्वमा लैजान तलबाटै वातावरण बनाइएको बताउनुभयो ।
आगामी वैशाख १५ गते इलाम २ मा हुने उपनिर्वाचनमा पूर्व सभामुख स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङलाई अघि सारिएको प्रसङ्ग केलाउँदै उहाँले युवालाई अवसर दिन एमालेले सुरुवात गरिसकेको बताउनुभयो ।
वर्तमान सरकार फरक पार्टी र विचार बिचको गठबन्धन नभएर राष्ट्रिय आवश्यकता भएको भन्दै उपाध्यक्ष पोखरेलले देशको समग्र विकासका लागि नयाँ समीकरण भएको बताउनुभयो ।
एमाले बारा अध्यक्ष बिनोद साहको अध्यक्षतामा सम्पन्न भएको ११ औँ जिल्ला अधिवेशनमा एमाले सचिव एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, केन्द्रिय सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, सुमन प्याकुरेल, रामदयाल मण्डल, कृषि मन्त्री एवं पोलिट ब्यूरो सदस्य ज्वालाकुमारी साह, अच्युत मैनाली लगायतले अधिवेशन सफलताको कामना गर्नुभएको थियो । जिल्ला सचिव अध्यानन्द पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्