तपाईँ सुन्दै हुनुहुन्छः

‘मुलुकलाई समृद्ध बनाउन पर्यटनको महत्वपूर्ण भूमिका हुन्छ’

जनकपुरधाम । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पर्यटन क्षेत्रको विकासबाट मुलुक चाँडै समृद्ध हुने भएकाले सरकार पर्यटन क्षेत्रको विकासमा लागि परेको बताउनुभएको छ ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेश प्रदेशको दोस्रो अधिवेशनको आज जनकपुरधाममा उद्घाटन गर्दै उपप्रधानमन्त्री महासेठले प्रकृतिमा सौन्दर्य, भौगोलिक विविधता, सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले समृद्ध भएकाले देश तथा मधेश प्रदेशमा पनि पर्यटन विकासको प्रचुर सम्भावना भएको बताउनुभयो ।

उपप्रधानमन्त्री महासेठले जनकपुरधाममा माता सीताको जन्म, ऋषि मुनिहरूको शास्त्रार्थ गर्ने स्थल, ५२ कुटी तथा ७२ कुण्डको शहर भएकाले यस ठाउँको सौन्दर्यीकरण तथा विकासका लागि बाह्य चक्रपथको डिपिआर आफू यस अघि भौतिक मन्त्री भएकै बेलामा गरेकाले त्यसलाई अगाडी बढाइने बताउनुभयो ।

उहाँले जनकपुरधाम–अयोध्या र अयोध्या–जनकपुरधाम रेल सञ्चालनका लागि मन्त्रालयले प्रक्रिया अगाडी बढाएकाले चाडै रेल सञ्चालन हुने विश्वास पर्यटन व्यवसायीहरूलाई दिलाउनुभयो ।

नेकपा एमालेका उपनेता एवं प्रदेश सभाका सदस्य दिपेन्द्र ठाकुरले जनकपुरधामको गरिमा तथा महिमा बढाउने किसिमको गतिविधि पर्यटन व्यवसायीले गर्नुपर्ने सुझाव दिँदै जनकपुरधामको विकासका लागि विशेष योजना ल्याउन माग गर्नुभयो ।

जनता समाजवादी पार्टी नेपालका सचेतक रामअशिष यादवले पर्यटन क्षेत्रको विकास गर्ने दायित्व वर्तमान संविधानले तीनै तहका सरकारलाई प्रदान गरेकाले पर्यटन क्षेत्रको विकासका तीनै तहका सरकार मिलेर काम गर्न जरुरी रहेको बताउनुभयो ।

प्रदेश सभा सदस्य शारदा देवी थापाले विश्वका हिन्दुको लागि आस्थाको केन्द्र तथा मधेश प्रदेशको राजधानी जनकपुरधाम भएकाले यसको विकास तथा सौन्दर्यीकरणमा जनकपुरधाम उपमहानगरपालिकासहित तीनै तहका सरकारले जिम्मेवारीका साथ काम गर्न आवश्यक भएको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले मधेश प्रदेशको समृद्धिको लागि हुलाकी राजमार्गको शीघ्र निर्माणका साथै पर्यटनलाई उद्योगको रुपमा विकास गर्न उपमहानगरपालिका पर्यटन व्यवसायीहरूलाई हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताउनुभयो ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जनकपुरधामदेखि अयोध्यासम्म चाँडो भन्दा चाँडो रेल सेवा सञ्चालनमा ल्याउन माग गर्दै मधेश प्रदेशमा पर्यटनको प्रचुर सम्भावना भएको बताउनुभयो ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घका प्रदेश अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ होटल व्यवसायी विजय झुनझुनवाला, महासङ्घका महासचिव मोहन शर्मा सहितका वक्ताहरूले बोल्नुभएको थियो ।

महासङ्घले उत्कृष्ट सेवा प्रदान गरेबापत महोत्तरी होटल व्यवसायी सङ्घलाई सम्मानपत्रसहित सम्मान गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button