तपाईँ सुन्दै हुनुहुन्छः

किसानलाई प्राविधिक ज्ञान सिकाइँदै

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का किसानलाई प्राविधिक ज्ञान दिन थालिएको छ । प्राविधिक ज्ञानबिना किसानले उत्पादन वृद्धि गर्न तथा विभिन्न समस्या आउँदा समाधान गर्न नसक्ने भन्दै वडाले उक्त ज्ञान प्रदान गर्न थालेको हो ।

शुक्रबारदेखि किसानलाई प्राविधिक तालिम दिन थालिएको वडाध्यक्ष खुसीराम चौधरीले बताउनुभयो । “समृद्धिको आधार नै कृषि हो, हामीले कृषकलाई प्रोत्साहन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यसले हामीले किसानलाई प्राविधिक तालिम दिएर दक्ष बनाउन खोजिरहेका छौँ ।”

किसानको पहिचान गर्नका लागि पनि यो कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष चौधरीले बताउनुभयो । वडामा किसानको सङ्ख्या यकिन भएपछि आगामी दिनमा कृषिसम्बन्धी योजना बनाउन सहज हुने उहाँको भनाइ छ ।

कृषि तथा पशुपालन पेसालाई आधुनिक तथा उत्पादनमुखी बनाउन आवश्यक रहेको भन्दै यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनुभयो । वडाले किसानको सहजताका लागि तालिमको व्यवस्था गरेकाले त्यसबाट किसानले लाभ लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

किसानले उत्पादन गरेको वस्तुको प्रवर्द्धनका लागि तुलसीपुर–१२ मा हाटबजार सञ्चालनको तयारी रहेको प्रमुख खड्काको भनाइ छ । अहिलेको आवश्यकता भनेको अर्गानिक उत्पादन रहेको बताउनुभयो । “हामीसँग प्रशस्त जमिन छ”, उहाँले भन्नुभयो, “हामीले बाहिरबाट तरकारी आयात गर्नुपर्ने अवस्था छ, यसलाई अन्त्य गर्नुपर्छ ।”

मौरीपालन, बाख्रापालन, बङ्गुर पालन, कुखुरापालन, तरकारीखेती गर्ने किसान, तरकारीको बेर्ना उत्पादन गर्ने किसानलाई उक्त तालिम प्रदान गर्न लागिएको हो । तालिमको प्रशिक्षकमा कृषि सेवा शाखा प्रमुख धनराज गौतम, कृषि अधिकृत शङ्कर न्यौपाने, पशु सेवा शाखाका अधिकृत नवराज रेग्मी रहनुभएको छ । तीन दिनसम्म सञ्चालन हुने तालिममा ५३ किसान सहभागी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button