तपाईँ सुन्दै हुनुहुन्छः

कुनै पनि आग्रह पूर्वाग्रह नराखी काम गर्न आफू प्रतिबद्ध : उपप्रधानमन्त्री लामिछाने 

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक वा कुनै पनि आग्रह पूर्वाग्रह नराखी काम गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री लामिछानेले कुनै पनि विषयको छानविन र अनुसन्धानबाट आएका निष्कर्षका आधारमा अगाडि बढ्ने बताउनुभयो । 

गृहमन्त्री लामिछानेले सांसदहरूको प्रश्नको जवाफमा सुन काण्डको प्रतिवेदनमा राज्यका धेरै महत्त्वपूर्ण सूचना रहेको र त्यसलाई प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेकाले उपयुक्त समयमा सार्वजनिक गरिने स्पष्ट पार्नुभयो । 

गृहमन्त्री लामिछानेले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको घटनाको विषयमा मिहिन ढङ्गले अध्ययन भइरहेको पनि बताउनुभयो । 

गृहमन्त्री लामिछानेले रातिको समयमा प्रहरीको पेट्रोल पम्प खुला गर्दा त्यसले सकारात्मक प्रभाव परेको भन्दै पर्यटन प्रवद्र्धन गर्न काठमाडौँ उपत्यका भित्रका व्यापार व्यवसाय २४सै घण्टा सञ्चालन गर्न सुरक्षा संवेदनशीलता, नियम र कानुन हेरेर अगाडी बढ्ने बताउनुभयो ।

गृहमन्त्री लामिछानेले सङ्घीयता कार्यान्वयनका लागि गृह मन्त्रालय अन्तर्गत निर्माण गर्नुपर्ने ऐन निर्माणका लागि संवेदनशील भएर लागिरहेको बताउनुभयो ।

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले देशभरको शान्ती सुरक्षाको अवस्था सामान्य रहेको जानकारी समितिमा गराउनुभयो । 

गृह सचिव अर्यालले गृह प्रशासन सुधारका लागि मन्त्रालय अन्तर्गत गठित समितिले काम गरिरहेको, सुरक्षा निकायको सवलीकरणका लागि काम भइरहेको र अपराध अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । 

बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायतको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button