तपाईँ सुन्दै हुनुहुन्छः

धमाधम बन्दहुदै साना उद्योग: आर्थिक मन्दी र वैदेशिक रोजगारी प्रतिको मोह प्रमुख कारण


अर्घाखाँची। अर्घाखाँची जिल्लामा सञ्चालित ५ सय १८ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका अनुसार जिल्लामा हालसम्म ३ हजार ८ सय ३८ उद्योग दर्ता भएकामध्ये आर्थिक बर्ष २०८०/०८१ मा ५ सय १८ उद्योगको दर्ता खारेज भएको हो ।हालसम्म उत्पादनमूलक ३ सय ९४, कृषि १ हजार ९ सय ८५, निर्माण दुई सय ५, पर्यटनमूलक ३ सय ३४, सूचना प्रविधि १४, सेवामूलक ३ सय ८१ खनिजजन्य ६ गरी, ३ हजार ८ सय ३८ उद्योग दर्ता भएका थिए।

स्रोतसाधनको सीमितता, पुँजी परिचालनको कमजोर अवस्था, व्यावसायिकताको प्रवद्र्धन अपेक्षित रूपमा हुन नसक्ने भएकाले नेपालजस्ता मुलुकहरूको आर्थिक विकासको मेरुदण्डको आधारका रूपमा घरेलु तथा साना उद्योगको विकास अपरिहार्य छ भन्दै गर्दा कच्चा पदार्थ र दक्ष जनशक्तिको अभावका कारण उद्योग बन्द भएका छन् ।

कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन् ।कार्यालयका अनुसार कतिपय उद्योगहरू सरकारबाट प्राप्त हुने अनुदानको लागि खोलिने र अनुदान पाए पछि वा नपाएकै भरमा खारेजी गर्ने प्रवृत्तिका कारण बन्द भएका छन् ।सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएका छन् भने ,दर्ता भएका उद्योग सञ्चालनको यथेष्ट ज्ञान र सीप सचेतनाको अभावका कारण पनि बन्द भएको कार्यालय प्रमुख सन्तोष खनालले जानकारी दिनुभयो ।

जिल्लावासीलाई उद्यमी बनाउँदै स्वरोजगारको बाटो पहिल्याउन कार्यालयको तर्फबाट बर्सेनि तालिम तथा उपकरण प्रदान गर्ने गरिएको भएपनी वैदेशिक रोजगारप्रतिको मोह, आर्थिक मन्दीको प्रभाव आदी जस्ता कारण देखाउँदै दिनप्रतिदिन साना तथा घरेलु उद्योग बन्दिइरहेको कार्यालय प्रमुख खनालले बताउनुभयो ।औद्योगिक विकास मुलुकको आर्थिक विकासको दिगो र भरपर्दो आधारस्तम्भ हो । रोजगारीका लागि कृषि क्षेत्रमा रहेको अत्यधिक निर्भरतालाई कम गर्दै विद्यमान बेरोजगारी कम गर्न औद्योगीकरणको भूमिका महत्वपूर्ण रहन्छ ।

औद्योगिक लगानीले औद्योगिक उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारीका अवसर सिर्जना, स्थानीय सीपको प्रवर्द्धन, स्रोत र साधनको उपयोग, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनमा योगदान पुर्‍याउँछ ।नेपालजस्तो विकासोन्मुख मुलुकले घरेलु तथा साना उद्योगको क्षेत्रमा बढी मात्रामा लगानी गर्नुपर्ने आवश्यकता देखिन्छ। स्थानीय,प्रदेश तथा सङ्घीय सरकारले उद्यमशीलता बिकास गर्दै स्वदेशमै रोजगार सिर्जना गर्ने लक्ष्य लिइरहँदा धमाधम साना तथा घरेलु उद्योग बन्दहुनुले तिनै तहको सरकारको लक्ष्य हासिल हुनेमा शङ्का बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button