तपाईँ सुन्दै हुनुहुन्छः

विपद् व्यवस्थापन समिति धनकुटाको बैठक सम्पन्न

धनकुटा । धनकुटा जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठक पहिलो पटक जिल्ला सदरमुकाम बाहिर बसेको छ ।

बैठक धनकुटाको प्रमुख पर्यटकीय केन्द्रको रुपमा विकास भइरहेको पाख्रिबास नगरपालिकास्थित संसारी सिमसारमा सम्पन्न भएको हो।

जिल्ला सदरमुकाममा मात्रै बस्दै आएको समितिको बैठक आइतबारदेखि परेको वर्षामा देशकै सबैभन्दा बढी वर्षात भएको पाख्रिबासमा पुगेर संसारी सिमसारको संसारी एयरलाइन्समा बसेको हो।

बैठकले विपद् सम्बन्धी योजना निर्माण गर्दै पर्यटन प्रवद्र्धन गर्ने पनि उद्देश्य राखेको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

बैठकमा धनकुटाका प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लामा हाल भइरहेको विपद्का काम र आगामी दिनमा गर्नुपर्ने कामका बारेमा प्रस्तुती राख्नुभएको थियो।

उहाँले विपद् व्यवस्थापन समितिले आगलागी, बाढी पहिरो पीडित तथा अन्य विपद्का घटनाबाट मृत्यु र क्षति भएका प्रभावित परिवारलाई सरकारले तोकेअनुसारको राहत प्रदान गरेको जानकारी दिनुभयो।

बैठकमा पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ, चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ, साँगुरी गढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले विपद्का घटना न्यूनीकरणमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

बैठकले धनकुटा जिल्लाको लागि चालु आर्थिक वर्षको लागि जिल्लामा वर्षातका कारण हुन सक्ने जोखिम स्थल पहिचान गरेर मनसुन प्रतिकार्य योजना र आगामी आर्थिक वर्षको लागि सबै प्रकारका जोखिमको अनुमान गरेर विपद प्रतिकार्य योजना निर्माण गर्न नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखालाई जिम्मा दिने निर्णय गरेको छ।

यस्तै जोखिम न्युनिकरणका लागि धनकुटामा रहेका सबै सरकारी तथा गैर सकारी कार्यालयले आफ्नो जिम्मेवारी समयमै पुरा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button