तपाईँ सुन्दै हुनुहुन्छः

मौसम परिवर्तनसँगै भाइरल ज्वरो, रुघाखोकी र झाडापखालाको प्रकोप

वीरगंज । चैत महिना शुरु भएसँगै मौसममा आएको परिवर्तनका कारण बारा, पर्सा लगायतका जिल्लामा रुघाखोकी, भाइरल ज्वरो तथा झाडापखाला, आऊ, आँखा पाक्ने लगायतका रोगको प्रकोप बढेको छ । 

बिहान बेलुकाको समयमा चिसो हुने तथा दिउँसो तातो हावासँगै गर्मी बढ्दा विभिन्न रोगको प्रकोप देखिएको हो । 

विशेषगरी पर्साको ठोरी, जीराभवानी, जगरनाथपुर, धोबिनी, पटेर्वासुगौली, सखुवाप्रसाैनी गाउँपालिका, पोखरीया, बहुदरमाई, पर्सागढी नगरपालिकामा रुघाखोकी, भाइरल ज्वरो तथा झाडापखाला, आऊ, आँखा पाक्ने लगायतका रोगको प्रकोप देखिएको चिकित्सकहरूले बताएका छन् । 

भाइरल ज्वरोसँगै रुघाखोकी, निमोनिया लगायतका रोगबाट पीडित भई हाल बारा, पर्सा, रौतहट जिल्लाबाट बीरगंज स्थित नारायणी अस्पतालमा दैनिक ५ सय देखि ७ सय सम्म बिरामी आउने गरेको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. निरज सिंहले बताउनु भयो । 

विशेषगरी मौसम परिवर्तनसँगै हुने सरुवा रोगको कारण स्कुले बालबालिकाहरू प्रभावित भएका छन् ।  अहिले बारा, पर्साका विद्यालयहरूमा वार्षिक परीक्षाको चटारो छ । परीक्षा चलिरहेको बेला बालबालिकाहरू बिरामीहरू भएपछि अभिभावक चिन्तित भएको पर्सा जीराभवानी गाउँपालिका वडा नम्बर २ शान्तिनगर निवासी देवीका श्रेष्ठले बताउनु भयो । 

जिराभवानी गाउँपालिका वडा नं २ स्थित सेढवा स्वास्थ्य चौकीका इन्चार्ज ज्ञानकिशोर प्रसादले पहिलेको तुलनामा अहिले रुघाखोकी, भाइरल ज्वरो, झाडापखालाका बिरामी ५० प्रतिशतले बढेको बताउनु भयो । उहाँले अधिकांशलाई स्वास्थ्य चौकीबाटै औषधी दिएपछि निको हुने र गम्भीर खालका बिरामीलाई नारायणी अस्पतालमा रेफर गर्ने गरेको जानकारी दिनुभयो । 

चिकित्सकहरूले मौसम परिवर्तनको समयमा सरुवा रोगको जोखिम हुने हुँदा पानी उमालेर पिउनु पर्ने बताएका छन् । प्रशस्त पानी सँगै यो मौसममा ताजा तथा पोसिलो खानेकुरा फलफूल खानु पर्नेमा जोड दिएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button