आगामी बजेटले जनतामा आशा जगाउनु पर्नेमा सांसदहरूको जोड

काठमाडौँ । प्रतिनिधि सभामा आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको छ ।
आजको बैठकमा सांसद चन्द्र भण्डारीले आगामी बजेटले भौतिक संरचना मात्र नभई मान्छेको मनस्थितिमा आशा जगाउने खालका कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सांसद भण्डारीले आम नागरिकले महसुस गर्ने गरी शिक्षा र स्वास्थ्यलाई बजेटले प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो ।
सांसद गोकुल बास्कोटाले अघिल्लो सत्ता समीकरणले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पुनर्लेखन गर्नु पर्ने बताउनुभयो ।
सांसद बास्कोटाले नयाँ गठबन्धन बनेसँगै आर्थिक वर्ष २०८१/०८२ का लागि बजेटका सिद्धान्त र प्राथमिकता परिमार्जन गरि कृषि,पर्यटन,रणनीतिक सडक, सहकारी क्षेत्रका समस्या समाधान गर्ने दिशामा अघि बढ्नुपर्ने बताउनुभयो ।
बैठकमा सांसद देवेन्द्र पौडेलले पन्ध्रौँ योजनाको समीक्षा गरि स्वदेशमा रोजगारीको ग्यारेन्टी, ठूला र कुटिर उद्योग सञ्चालन,दिगो विकासका लक्ष्यहरूको प्राप्ति गर्ने ठोस रणनीतिसहितको बजेट आउनुपर्ने बताउनुभयो ।
सांसद सोभिता गौतमले लगानी मैत्री नीति अबलम्बन गरी रोजगारी सिर्जना, अनौपचारिक क्षेत्रलाई राष्ट्रिय आर्थिक प्रणालीमा जोड्नुपर्ने,विद्यार्थीलाई आत्मनिर्भर बनाउने र शैक्षिक पर्यटन लगायतका क्षेत्रमा स्पष्ट र दूरदर्शी मार्गचित्र प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।
बैठकमा सांसद ध्रुवबहादुर प्रधानले साना किसान योजनालाई प्राथमिकतामा राख्नुपर्ने, औद्योगिक क्षेत्रका नागरिकको स्वास्थ्य र अर्थोपार्जनको ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो ।
बैठकमा आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी छ ।







प्रतिक्रिया राख्नुहोस्