पोखरा अब पर्यटनको राजधानी : अधिकांश व्यवसाय अब राती पनि सञ्चालन हुने

पोखरा । पोखरालाई पर्यटनको राजधानी घोषणा गरेसँगै आज (आइतबार) देखि राति १ बजेसम्म अधिकांश व्यवसाय गर्न पाइने छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा हालै बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनु भयो ।
यस अघि पोखरामा १०ः०० बजे नै अधिकांश व्यवसाय बन्द गराउने गरेको प्रहरीले अब भने १ः०० बजेसम्म किराना देखि पानसम्मका पसल तथा व्यवसायलाई सञ्चालन गर्न दिने भएको हो । मनोरञ्जनका केही व्यवसायहरूलाई भने निश्चित मापदण्डका आधारमा रातै भरी अर्थात् २४ सै घण्टा खुल्ने पाउने गरी अनुमति दिने भएको छ । गण्डकी प्रदेशको राजधानी पोखराका केही क्षेत्रबाट यसको सुरुवात हुने आवश्यकता र स्थानीयको माग अनुसार क्षेत्राधिकार बढाउँदै लैजाने आफूहरूसँग योजना रहेको उहाँले जनाउनु भयो ।
आवश्यक मापदण्डका आधारमा मात्र पोखराका केही क्षेत्रमा २४ सै घण्टा खुल्ला हुने अन्य व्यवसायहरू भने राति १ बजेसम्म सञ्चालन गर्न पाउने भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षत्रीले बताउनु भयो । खाना, खाजा, पान पसल देखि किराना पसलहरूको लागि राति १ बजेको समय सीमा निर्धारण गरिएको छ । दोहोरी, डिस्को, डान्स, पप लगायतका मनोरञ्जन व्यवसायको लागि रात भरी निश्चित मापदण्ड आन्तरिक सुरक्षा व्यवस्था, ध्वनि प्रदूषण रहित हो हल्ला गर्न नपाइने, सिसि क्यामरा जडान, स्मोकिङ जोन छुट्टाउने लगायतका आधारमा खुल्ला हुने भएको सहायक प्रमुख जिल्ला अधिकारी क्षत्रीले बताउनु भयो ।
गैराको चौतारा देखि चिप्लेढुंगा, महेन्द्रपुल,पृथ्वीचोक, नागढुंगा, मुस्ताङचोक, विरौटा, राष्ट्रबैंकचोक, ड्याम साइड, लेक साइड हुँदै हल्लनचोकसम्म २४ सै घण्टा खुला राख्ने निर्णय भएको उहाँले जनाउनु भयो । पर्यटनको राजधानी घोषणासँगै पोखरामा २४ सै घण्टा खोल्ने निर्णयले आफूहरूलाई थप उत्साहित बनाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । कोभिडले प्रभावित पोखराको पर्यटन क्षेत्रलाई पर्यटनको राजधानी घोषणा सहित २४ सै घण्टा खुल्ला रहन पाउनुले यहाँको आर्थिक क्रियाकलाप सहित पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने उहाँले जनाउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्