कोशी प्रदेश : क्रिकेट प्रतियोगिताको उपाधि आर्मीलाई
मोरङ । विराटनगरमा जारी कोसी प्रदेश टी–२० च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ ।
आर्मीले रु पाँच लाखसहित ट्रफी हात पारेको छ । त्यसैगरी उपविजेता कर्णाली प्रदेशले रु तीन लाखमा चित्त बुझाएको छ ।
आज भएको खेलमा आर्मी क्लबले कर्णाली प्रदेशलाई नौ विकेटले पराजित गरेको हो । जारी सिजनमा तेस्रो पटक फाइनलमा प्रवेश गरेको आर्मीले पहिलो उपाधि जित्यो । यसअघि आर्मी क्लब प्रधानमन्त्री कपमा नेपाल पुलिस र केपी ओली कपमा मधेस प्रदेशसँग पराजित भएको थियो ।
कोशी प्रदेश ट्रफीको पहिलो संस्करणको उपाधि हात पार्ने क्रममा टस हारेर आर्मीले फिल्डिङको निम्तो पाएको थियो । कर्णाली प्रदेशले २० ओभरमा अल आउट हुँदै एक सय १० रनको योगफल तयार पारेको थियो ।
आर्मीले निर्धारित लक्ष्य १२ दशमलव दुई ओभरमा एक विकेटको नोक्सानीमा पूरा गरेको थियो ।
विजेता टोलीलाई कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पुरस्कार वितरण गर्नुभएको थियो ।
गत फागुन २२ गतेबाट सुरु भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेशको सहभागिता रहेको आयोजक नेपाल क्रिकेट सङ्घ मोरङका अध्यक्ष मोहम्मद साद कुरैसीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्