भ्रष्टाचारमुक्त समाज निर्माणमा जुटौँ : अध्यक्ष नेपाल

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारमुक्त समाज निर्माणमा सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।
आज पार्टीको काभ्रेपलाञ्चोक जिल्ला कमिटीको १०औँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उहाँले देशलाई भ्रष्टाचारमुक्त बनाउन तथा बेथितिसँग मिलेर जान सबै राजनीतिक दललाई आग्रह गर्नुभएको हो ।
“आज प्रधानमन्त्री, गृहमन्त्रीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतासँगको छलफलमा हामीले भ्रष्टाचार नियन्त्रण गर्न र बढ्दो बेथितिसँग जुध्न सामूहिक सङ्कल्प गरेका छौँ”, उहाँले भन्नुभयो, “यसमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ । यसका लागि सम्पूर्ण वामपन्थी र लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक छ ।”
अध्यक्ष नेपालले जनतामा नेता र दलप्रति नकारात्मक प्रभाव परिरहेकाले जनताका आधारभूत समस्यालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनतामा पछिल्लो समय बढेको निराशालाई घटाउने र घटेको भरोसालाई बढाउनुपर्ने दायित्व हाम्रै हो, हामीले भरोसालाई चिर्दै नागरिकमा भरोसा जगाउने सङ्कल्प लिएर अघि बढेका छौँ ।” उहाँले मुलुक समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेकाले यहीमार्फत देशलाई समृद्ध बनाउनुपर्ने तर्क गर्नुभयो ।
“देशलाई पश्चगामी दिशातर्फ लैजाने सोच कसैले बनाएको छ भने, त्यो दिवा सपना मात्रै हो, अग्रगामीको एकताले मुलुकलाई अग्रदिशातर्फ लम्काइरहेको छ”, उहाँले भन्नुभयो । वामपन्थी विचारधार मिलेकाले वर्तमान गठबन्धन सरकारमा सामेल भएकोसमेत उहाँले प्रष्ट्याउनुभयो । अध्यक्ष नेपालले फरक प्रसङ्गमा अन्य दलसँग आफ्नो पार्टी एकता हुने भ्रम नफैलाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय उपमहासचिव गङ्गालाल तुलाधार, केन्द्रीय सदस्य द्वय टोक बहादुर वाइबा र लक्ष्मण लम्साल तथा नेकपा (माओवादी)का जिल्ला संयोजक भोला अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष प्रविण धिताल, नेपाली कांग्रेसका जिल्ला उपसभापति रमेशप्रसाद हुमागाईँ लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्