तपाईँ सुन्दै हुनुहुन्छः

‘सहकारीप्रतिको विश्वास फर्काउन सुशासन प्रवर्द्धन आवश्यक’

नेपालगञ्ज । सहकारीप्रतिको गुम्दै गएको विश्वास फर्काउन सुशासन प्रवर्द्धन आवश्यक रहेको औँल्याइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति काठमाडौँको आयोजनामा आजदेखि नेपालगञ्जमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय ‘सहकारी संस्था: समस्या, समाधान र सुशासन प्रवर्द्धन’ विषयक दुई दिने कार्यशालामा सुशासन प्रवर्द्धनसँगै सहकारी शिक्षामा जोड दिइएको छ ।

समितिका अध्यक्ष काशीराज दाहालले समस्यामा रहेका सहकारीहरूको व्यवस्थापन गर्दै उत्कृष्ट कार्य गरिरहेका सहकारीहरूलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो । गाउँ भन्दा सहरका सहकारीहरूमा बढी समस्या रहेको अध्ययनले देखाएको भन्दै उहाँले समाधानको बाटो खोज्नु अघि वास्तविक समस्या पहिचानमा केन्द्रित हुन सरोकारवालाहरूलाई आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेशका स्थानीय सरकारका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सहकारी शाखा प्रमुखहरूको सहभागिता रहेको कार्यशालामा दाहालले सहकारी अभियानलाई प्रभावकारी बनाउन सहकारीप्रति आम सर्वसाधारणको विश्वास बढाउन जरुरी रहेको बताउनुभयो । वित्तीय अनुशासनले मात्रै सहकारीलाई सही दिशा निर्देश गर्न सक्ने भन्दै दाहालले सबै सहकारीलाई एउटै डालोमा नराखी वर्गीकृत ढंगले विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यशालामा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले नेपालगञ्जमा सहकारीको स्थिति, सकारात्मक पक्ष र समस्याका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नारायण डाँगीले सहकारी सम्बन्धि कसुर र कारवाहीको अवस्थाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यशाला उद्घाटन शत्रमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, शिवराज नगरपालिका कपिलवस्तुकी उपप्रमुख शिवकुमारी चौधरी, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सहकारीको बिग्रँदो अवस्था र खस्किँदो छविलाई उकास्न सरोकारवाला सबै गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।

अर्थ नीतिका तीन खम्बा मध्ये एक मानिएको सहकारी क्षेत्रलाई भरपर्दो र विश्वसनीय बनाउनुपर्ने सहभागीहरूको धारणा छ । बदमासी गर्नेहरूलाई तत्काल कारबाही र राम्रो गरिरहेकाहरूलाई प्रोत्साहनको नीति अपनाउनुपर्नेमा जोड दिइएको छ । अनुगमनको पाटो पनि नियमित र व्यवहारिक बनाउनुपर्नेमा सहभागीहरूको जोड छ । कार्यशाला भोलिसम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button