सरकारलाई असफल हुने छुट छैन : मन्त्री भण्डारी
नेपालगन्ज । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ ।

डल्फिन ग्रुपको १४औँ वार्षिकोत्सव समारोहलाई आज नेपालगन्जमा सम्बोधन गर्दै मन्त्री भण्डारीले मुलुकमा चुनौतीका चाङ थुप्रै भएकाले सरकार ठूलो अग्निपरीक्षामा रहेको बताउनुभयो । उहाँले जनतामा छाएको निराशा र आक्रोशलाई प्रखर ढंगले सम्बोधन गर्नुपर्ने दायित्व रहेको उल्लेख गर्नुभयो । अहिले अग्रगमन पक्षधरबिच सरकारमा सहकार्य भएको चर्चा गर्दै उहाँले राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभिभाराका साथ सरकार अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो ।
आयातमुखी अर्थतन्त्रलाई सन्तुलनमा ल्याउनुपर्ने टड्कारो आवश्यकता रहेको भन्दै मन्त्री भण्डारीले चुलिँदो व्यापार घाटा कम गर्ने कार्ययोजनाका साथ सरकार अगाडि बढ्ने बताउनुभयो । उहाँले नेपालको अर्थतन्त्र बलियो बनाउनका लागि उद्योगी व्यवसायीलाई सक्षम बनाउन लगानीमैत्री वातावरण तयार गर्न सरकार लागिपर्ने बताउनुभयो ।
कानुन निर्माण र संशोधन गरेर भए पनि लगानीमैत्री वातावरण बनाउन सरकार उच्च इच्छाशक्तिका साथ लाग्ने मन्त्री भण्डारीको भनाई छ । निजी क्षेत्र उत्साहित भएन भने समृद्धिको दिशामा अगाडि बढ्न नसकिने बताउँदै उहाँले सरकार निजी क्षेत्रसँगै सहकार्य गरेर जाने स्पष्ट पार्नुभयो । मन्त्री भण्डारीले आफ्नो कार्यकाललाई स्मरणीय बनाउन दत्तचित्त भएर लाग्ने बताउनुभयो ।
कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले खुला सीमाका कारण नेपाली सीमावर्ती बजार समस्यामा रहेको बताउनुभयो । वार्षिकोत्सव समारोह डल्फिन ग्रुपका अध्यक्ष सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । डल्फिन ग्रुपले खाद्यान्न र पशुपंक्षीको दाना उत्पादन गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्