‘राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्छ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभामा आज विश्वासको मत माग्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रका सम्भावना हासिल गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीले आफू निषेध, अपमान र प्रतिशोध नभई सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले आर्थिक गतिविधिको विस्तार र समष्टिगत आर्थिक स्थायित्व सरकारको प्राथमिकता हुने बताउनुभयो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकार गठनमा सहभागी दलहरूबीच न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको जानकारी दिनुभयो ।
सरकार पुनर्गठनसँगै पूँजी बजारमा आएको सकारात्मक परिवर्तनलाई आफूले सरकारप्रति जनअनुमोदन र समर्थनका रुपमा बुझेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोमबार मात्रै मिटरब्याज पीडितहरूसँग चार बुँदे सहमति भएको जानकारी गराउनुभयो ।
उहाँले वित्तीय अनुशासन, प्रशासनिक खर्चमा मितव्ययिता, उत्पादकत्व वृद्धि र राजस्व चुहावटमा स्थायी नियन्त्रणबाट राष्ट्रको आर्थिक जीवनलाई अझ बलियो बनाउने सरकारको अठोट रहेको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताउनुभएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरत रूपमा लागेका कारण पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकांश सूचकहरू राम्रा हुँदै गएको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले शोधनान्तर बचत भएको जनाकारी गराउँदै विदेशी विनिमय सञ्चिति १९ दशमलव ९ प्रतिशतले वृद्धि भई झण्डै १८ खर्ब ४५ अर्ब रुपैयाँ बराबर पुगेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले व्यापार घाटा एक दशमलव ८ प्रतिशतले घटेको उल्लेख गर्दै आन्तरिक अर्थतन्त्रतर्फ सात महिनाको अवधिमा मुद्रास्फीति ५ दशमलव १ प्रतिशतमा सीमित गरिएको बताउनुभयो । उहाँले कर्जा प्रवाह ४ दशमलव ७ प्रतिशतले बढेको उल्लेख गर्नुभयो ।
आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन नसकेको तथा पूँजीगत खर्च पनि अपेक्षा अनुसार बढाउन नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनालाई थप तीव्रता दिने, पुँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाउनु, प्रक्रियागत अवरोधहरू हटाउनु र निजी क्षेत्रको क्षमताको पूर्ण उपयोग हुने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि विद्युत् व्यापारको नजिक पुगेको र चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्नु ठूलो उपलब्धि भएको बताउनुभयो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले संविधानको भावना विपरीतका थरिथरिका विचलन रोक्न संसद्सँग विश्वासको मत प्रदान गर्न आग्रह गर्नुभएको छ ।
विश्वासको मत माग्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सिर्जना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन पनि सरकारले विश्वासको मत पाउन जरुरी रहेको स्पष्ट पार्नुभयो ।
पछिल्ला सबै आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै राष्ट्रियता, स्वाभिमान र सार्वभौमसत्ताप्रति गौरवबोध गर्न आफूलाई संसद्को समर्थन आवश्यक रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले हजारौँ नयाँ स्टार्टअप र उद्यमशीलता केही महिनामै सुरु हुने र आत्मनिर्भरताको व्यवस्थित प्रयास संसद्लाई विश्वास दिलाउनुभयो ।
सुशासनमा अहिलेसम्म भएका प्रयासले लोकतन्त्रप्रति जनताको आस्था पुनः स्थापित गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवा प्रवाह र सुशासनबाट नागरिकमा राज्यप्रति भरोसा जगाउने समेत स्पष्ट पार्नुभयो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसलाई पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन अनुरोध गर्नुभएको थियो ।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत माग्ने प्रस्ताव माथिको छलफलमा अध्यक्ष ओलीले नयाँ गठबन्धन बनाउनुपर्ने कारणबारे प्रधानमन्त्रीले दिएको तर्क उचित भएको भन्दै काँग्रेसले समर्थन गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले देशका समस्या समाधान गर्ने, संविधान कार्यान्वयन गर्ने, गणतन्त्रलाई बलियो बनाउने विषयमा सबै एक भएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले टिआरसी सम्बन्धी विधेयकमा एक दुई वटा विषय मात्रै टुङ्ग्याउन बाँकी रहेकाले ती विषय टुङ्ग्याउन आफूहरू तयार रहेको बताउनुभयो ।
प्रधानमन्त्री हुनकै लागि गठबन्धन नगरेको स्पष्ट पार्दै अध्यक्ष ओलीले प्रधानमन्त्री बन्ने इच्छा आफ्नो नरहेको तर देशको समस्या समाधान गर्न आफूले पहल गरेको बताउनुभयो ।
अध्यक्ष ओलीले देशको हालको परिस्थिति सुखद नरहेको, विभिन्न जात धर्म र पहिचानका नाममा भाँजो हाल्ने काम भइरहेको, राष्ट्रिय एकतालाई भित्रभित्रै खोक्रो बनाउने काम भइरहेको भन्दै यस्ता असमानता र विभेदको अन्त्य गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले जनताका समस्या समाधान गर्न, जनचाहनाको सम्बोधन गर्न र विभिन्न क्षेत्रमा देखिएका विकृति रोकी देशको आर्थिक उन्नतिका लागि योजनबद्ध रुपमा अगाडी बढ्न समेत सबैलाई आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले विकास, समृद्धि र जनचाहना अनुसार काम गर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले मत माग्नु भएकाले उहाँको विश्वासको मतको प्रस्तावलाई समर्थन गर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताका प्रतिनिधिको सर्वोच्च थलो संसदमा जनताका दैनिक सवालका विषयले प्राथमिकता पाउनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत माग्ने प्रस्ताव माथिको छलफलमा काँग्रेसका महामन्त्री शर्माले संसदमा आर्थिक अवस्था, शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषय, सङ्घीयता बलियो बनाउने, शिक्षा स्वास्थ्य सुधार, इजरायलमा हमासको आक्रमणमा मरिरहेका नेपाली नागरिकका विषयमा छलफल हुनुपर्ने बताउनुभयो ।
महामन्त्री शर्माले अघिल्लो पटक काँग्रेसले माओवादीलाई मत दिएको कुरा पनि प्रधानमन्त्री प्रचण्डले बिर्सन नमिल्ने बताउनुभयो ।
महामन्त्री शर्माले नेपाली कांग्रेस संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने विषयलाई केन्द्रमा राखेर अगाडी बढ्ने बताउनुभयो ।
मुलुकको अर्थतन्त्रलाई सही ढंगले अगाडी लैजाने विषयमा गम्भीर बनेर अगाडी बढ्ने तथा नागरिकको मनोबल बढाएर अगाडी बढ्नु पर्छ भन्ने कुरामा सिङ्गो संसद् अगाडी बढ्नुपर्छ भन्ने पक्षमा नेपाली कांग्रेस रहेको समेत महामन्त्री शर्माले स्पष्ट पार्नुभयो ।
महामन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डले राख्नुभएको विषयमा सन्तुष्ट हुने ठाउँ नरहेको भन्दै विश्वासको मत दिन नसकिने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले देशको अग्रगमन, संविधान संशोधन र जनताका मुद्दालाई संशोधन गर्नका लागि अहिलेको गठबन्धन सकारात्मक रहेको भन्दै सबैले प्रधानमन्त्री प्रचण्डलाई लाई विश्वासको मत दिनुपर्ने बताउनुभयो ।

सांसद यादवले सरकारमा बसेर सरकारलाई असहयोग गर्ने, प्रधानमन्त्रीले थालेका काम गर्न नदिने, सबै ठाउँमा पद माग्ने र सरकारलाई असफल पार्ने गरी नेपाली काँग्रेसले काम गरेको आरोप लगाउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले कामै गरेर राष्ट्र हितका सवालमा काम गर्ने प्रधानमन्त्री प्रचण्डको चाहनालाई पुरा गर्न आफूहरूले साथ दिएको बताउनुभयो ।

सांसद वाग्लेले सरकारमा रहेर काम गर्न नसके रास्वपा आफैँ सरकारबाट बाहिरिने भन्दै गृह मन्त्रालयमा सभापति एवं गृहमन्त्री रवि लामिछाने आएपछि सुशासनका पक्षमा सुधारको सङ्केत देखिसकेको जिकिर गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ सत्ता गठबन्धन देश र जनताको वर्तमान परिस्थितिलाई केन्द्रमा राखेर नबनेको आरोप लगाउँदै सत्ताको भागबण्डा र विभिन्न काण्डबाट सुरक्षित हुन नयाँ गठबन्धन बनेको बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले सहयात्रीहरू फेरिने तर प्रधानमन्त्रीले विश्वासको मत पाइरहने अवस्थालाई ‘विचित्रको विडम्बना’ संज्ञा दिनुभयो । उहाँले आफ्नो पार्टीको तर्फबाट विश्वासको मत दिने बताउनुभयो ।

एकीकृत समाजवादी पार्टीका सांसद राजेन्द्रप्रसाद पाण्डेले आफ्नो पार्टीले विश्वासको मत दिने भन्दै व्यवस्था र संविधान जोगाउने गरी काम गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता श्रेष्ठले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताउनुभयो ।
जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरी, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने बताउनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्