संविधानको कार्यान्वयनका लागि संघीय शासन प्रणाली बलियो बनाउनु पर्नेमा जोड

जनकपुरधाम । जनताको ठूलो त्याग, तपस्या तथा शहादतको बलमा प्राप्त भएको वर्तमान संविधानले प्रदान गरेको संघीय शासन प्रणालीलाई बलियो बनाउनुको कुनै विकल्प नभएको विज्ञहरूले जोड दिनु भएको छ ।
पूर्व सांसद मञ्च नेपालले आज जनकपुरधाममा आयोजना गरेको “प्रदेश सभामा विधायिकी अभ्यास” सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागी हुनु भएका सङ्घीयता र संविधानका विज्ञहरूले संविधानमा भएको व्यवस्थाहरूलाई बलियो बनाउँदै वर्तमान शासन प्रणालीलाई मजबुत बनाउनुको कुनै विकल्प नभएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले वर्तमान संघीय प्रणाली लागू भएपछि अहिले विकासको गतिले तीव्रता पाएको दाबी गर्दै प्रदेश तथा स्थानीय तहमा आएको कूल बजेटको ३० प्रतिशत बजेटले गाउँ गाउँमा विकासको लहर ल्याएको दाबी गर्नु भयो ।
उहाँले सङ्घीयताका कारणले मात्र महिला, दलित, जनजाति सहितका विछडीएका वर्गको राज्यको नीति निर्माणको तहमा उल्लेख्य सहभागिता बढेको बताउँदै पूर्व सांसद मञ्च नेपालले गरेको कार्यक्रमले मधेश प्रदेशका प्रदेश सभाका सदस्यहरूको क्षमता अभिवृद्धिमा ठूलो मद्दत पुगेको विश्वास व्यक्त गर्नु भयो ।

पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले कार्यपत्र प्रस्तुत गर्दै संघीय शासन प्रणालीको अग्नि परीक्षाको घडी रहेकाले प्रदेश सभा तथा प्रदेश सरकारले सङ्घीयताको असल अभ्यास गरेर यसको आवश्यकताको पुष्टि गर्न सक्नु पर्दछ भन्नु भयो ।
उहाँले वर्तमान संविधान लोकतन्त्र, गणतन्त्र, समावेशीता तथा सङ्घीयताको साझा दस्ताबेजको रुपमा रहेकाले प्रदेश सभाले संविधानको भावनालाई आत्मसात गर्दै सोही अनुसारको कानूनको निर्माण र त्यसको कार्यान्वयनमा प्रदेश सरकारले विशेष जोड दिन जरुरी रहेको बताउनु भयो ।
संविधान विज्ञ तथा नेकपा माओवादी केन्द्रका नेता डा. खिमलाल देवकोटाले कानून निर्माणको प्रक्रिया तथा कार्यान्वयनको अवस्था र आवश्यकता विषयमा कार्यपत्र प्रस्तुत गर्दै कानून निर्माण गरेर हुँदैन र यसको कार्यान्वयन भएको पुष्टि हुन जरुरी रहेको बताउनु भयो ।
उहाँले प्रदेश सभाका सदस्यहरु कानून निर्माता भएकाले सरकारले कानूनको निर्माण गरेर प्रदेश सभामा पेश गरेपछि त्यसको अध्ययन राम्रोसँग गरेर मात्र पारित गर्नका लागि आग्रह गर्दै प्रदेशले बनाएको केही कानुनहरूमा भएको त्रुटिका विषयमा ध्यानाकर्षण गराउनु भयो ।

नेकपा एमालेका नेता तथा कानून विद् परशुराम मेघीले नेपालमा संघीय शासन प्रणाली, कानून निर्माणको इतिहास जस्ता विषयमा कार्यपत्र प्रस्तुत गर्दै कानूनको प्रभावकारी कार्यान्वयनका लागि कानुनहरूको विषयमा बृहत् समीक्षा र बहस हुन जरुरी रहेको बताउनु भयो ।
पूर्वमन्त्री, मञ्चका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक रामेश्वर राय यादवले पूर्व सांसद मञ्च नेपालले मधेश प्रदेशका प्रदेश सभा सदस्यहरूको क्षमता अभिवृद्धिका लागि कार्यक्रम मधेश प्रदेशमा आयोजना गरेको बताउँदै यसबाट कानुनका सैद्धान्तिक पक्षहरूका विषयमा जानकारी पाउनमा सहयोग पुगेको आशा व्यक्त गर्नु भयो ।
पूर्व मन्त्री, सांसद मञ्चका कार्यवाहक अध्यक्ष झलकनाथ वाग्लेको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्षहरू गोविन्द बहादुर शाह, विष्णु बहादुर राउत सहितका वक्ताहरूले प्रदेश सभा सदस्यहरूको संसदीय अभ्यास सम्बन्धि क्षमता अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरेको बताउनु भयो । सो अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशमा भएका पूर्व सांसदहरु, संविधान सभाका पूर्व सदस्यहरु, प्रदेश सभाका पूर्व सदस्यहरु र वर्तमान प्रदेश सभाका सदस्यहरूको सहभागिता रहेका थिए ।








प्रतिक्रिया राख्नुहोस्