‘सडक सुरक्षा’ प्रसारणसम्बन्धी सम्झौता सम्पन्न
सुर्खेत । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतबिच आज रेडियो कार्यक्रम उत्पादन र प्रसारणसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ ।

मन्त्रालयबाट सम्पादन भएका काम, भौतिक पूर्वाधार लगायत मन्त्रालयका कार्यक्षेत्र अन्तर्गतका विकास निर्माणका गतिविधि र सडक सुरक्षासँग सम्बन्धित विभिन्न विषयबारे जानकारी दिने उद्देश्यले मन्त्रालय र रेडियो नेपालबीच ‘सडक सुरक्षा’ नामक रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण सम्बन्धी सम्झौता भएको हो ।
विकास निर्माणका काममा मन्त्रालयबाट भइरहेका प्रयास, योजना, नीति र कार्य प्रगतिका गतिविधिका साथै मुख्य गरी सडक दुर्घटनाको जोखिम न्यूनीकरणमा सघाउ पुर्याउने सामाग्री समेटेर कार्यक्रम तयार गरी प्रसारण गर्न रेडियो नेपालसँग सहकार्य गरिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव विष्णु भण्डारीले बताउनुभयो ।
रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका प्रमुख आनन्द विश्व पन्तले मन्त्रालयसँगको सहकार्यमा विगत वर्षहरुमा पनि ‘सडक सुरक्षा’ कार्यक्रम प्रसारण गरिएको स्मरण गर्नुहुँदै चालु आर्थिक वर्षमा पनि यस कार्यक्रमको निरन्तरताले जनचेतना अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम पाक्षिक रुपमा पहिलो र तेस्रो आइतबार बेलुकी ५ः३० बजे रेडियो नेपाल सुर्खेतबाट प्रसारण हुनेछ । यो कार्यक्रमको पहिलो अङ्क आगामी चैत्र ४ गतेदेखि प्रसारण हुने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका वरिष्ठ सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीले जानकारी दिनुभयो ।
सम्झौतापत्रमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव विष्णु भण्डारी र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका प्रमुख आनन्द विश्व पन्तले हस्ताक्षर गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्