श्रमको सम्मान गर्ने संस्कारको विकास जरुरी : राष्ट्रपति पौडेल
लामो सङ्घर्ष र लडाइँबाट प्राप्त भएको उत्पीडित, महिलालगायतको अधिकारलाई व्यवहारमा उतारेर समानता र न्याय स्थापित गर्न घरपरिवारबाटै संस्कार र सोच परिवर्तन गर्नुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लामो सङ्घर्ष र लडाइँबाट प्राप्त भएको उत्पीडित, महिलालगायतको अधिकारलाई व्यवहारमा उतारेर समानता र न्याय स्थापित गर्न घरपरिवारबाटै संस्कार र सोच परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति पौडेलले नेपालमा सबैभन्दा बढी श्रम गर्ने वर्ग अपमानित भएकामा चिन्ता प्रकट गर्दै श्रमको सम्मान गर्ने संस्कारको विकास जरुरी रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा राजनीतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व थोरै मात्रामा वृद्धि भएको उल्लेख गर्नुहुँदै महिलाहरूको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न नसक्ने विचार व्यक्त गर्नुभयो ।

संविधानले महिलाविरुद्ध हुने कुनै पनि किसिमको हिंसाजन्य कार्य र शोषणलाई दण्डनीय मानेको बताउनुहुँदै राष्ट्रपति पौडेलले यी हक, अधिकारको व्यवहारिक कार्यान्वयन गर्न सबै पक्षलाई आग्रह गर्नुभयो ।

समारोहमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिलामाथि हुने हिंसा अझै कम नभएको बताउँदै महिलामा आर्थिक लगानी गर्नु सरकारको अबको दायित्व रहेको बताउनुभयो ।
यस अवसरमा प्रतिनिधिसभाको महिला तथा सामाजिक विकास समितिका सभापति किरण शाह, राष्ट्रिय महिला आयोगकी सदस्य लिली थापा मन्त्रालयका सचिव सुमनराज अर्यालले र महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले महिलामाथिको विभेद अन्त्य गर्नका लागि महिलालाई आर्थिक रुपमा सम्पन्न बनाइनुपर्ने विचार व्यक्त गर्नुभयो ।









प्रतिक्रिया राख्नुहोस्