निर्वाचन क्षेत्र रणनैतिक सडक निर्माणमा ढिलाइ भएको सांसदहरूको गुनासो

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले निर्वाचन क्षेत्र जोड्ने रणनैतिक सडक निर्माणको काममा ढिलाइ भएको बताउनुभएको छ ।
संसद्को पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले एक सय ६५ वटा निर्वाचन क्षेत्र रणनैतिक सडक निर्माणमा सरकारले असमान बजेट निकासा गरेको बताउँदै उक्त सडक निर्माण गर्न सक्ने वा नसक्ने सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।
सांसदहरू गोकर्ण विष्ट, ठाकुर गैरे, निशा डाँगी, प्रतिमा गौतमलगायतले जुन महत्वका साथ निर्वाचन क्षेत्र सडक निर्माणको काम सुरु गरिएको हो त्यसअनुसार काम हुन नसकेको बताउनुभयो ।
हाल निर्माण भइरहेकै गतिमा निर्माण कार्य हुने हो भने ३० वर्षमा पनि सडक निर्माणको काम सम्पन्न नहुने भन्दै समितिका सांसदहरूले अर्थ मन्त्री र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीले समितिमा उपस्थित भएर जवाफ दिनुपर्ने बताउनुभयो ।
बैठकमा सडक विभागका महानिर्देशक सुशिलबाबु ढकालले निर्वाचन रणनैतिक सडक निर्माणको काम करिब ४५ प्रतिशत सकिएको र बजेट निकास नहुँदा निर्माण कार्यमा ढिलाइ भएको जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्