मानव बेचबिखन नियन्त्रण गर्न नेपाल–भारतबीचको प्रभावकारी सहकार्यमा जोड

नेपालगञ्ज । मानव बेचबिखनलाई नियन्त्रण गर्न नेपाल-भारतबीचको प्रभावकारी सहकार्यमा जोड दिइएको छ । शक्ति समूहले नेपालगञ्जमा आज आयोजना गरेको मानव बेचबिखन विरुद्ध अन्तरसीमा कार्यशाला गोष्ठीमा मानव बेचबिखन रोक्न दुई देश बीचका सरोकारवाला निकाय र व्यक्तिहरूबिचको प्रभावकारी सहकार्यमा जोड दिइएको हो । नेपाल र भारतका सुरक्षा अधिकारीहरू समेत उपस्थित कार्यशालामा मानव बेचबिखनको स्वरूप बदलिएको भन्दै त्यसतर्फ सजग रहनुपर्ने आवश्यकता पनि औँल्याइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले मानव बेचबिखन रोक्न नेपाल भारतबीच प्रभावकारी सहकार्य हुन आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालगञ्ज कर्णाली र लुम्बिनी प्रदेशको मुख्य आवतजावत केन्द्र भएकाले मानव बेचबिखनको जोखिम बढी हुने हुँदा सरोकारवाला निकायहरूले सजगताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले पैसाका लागि धेरै नेपाली बेचिएको बताउनुभयो । उहाँले नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले पहिला र अहिले मानव बेचबिखनको प्रक्रिया र माध्यम फरक भएको बताउनुभयो । उहाँले हिजोआज पढेलेखेका र सबै कुरा बुझेकाहरू पनि रोजगार पाइने आशामा मानव बेचबिखनमा परेको बताउनुभयो ।
शक्ति समूहका अध्यक्ष नातीसरा राईले मानव बेचबिखनका क्षेत्रमा काम गर्ने सबैको सहयोगमा अघि बढ्न सहज भएको बताउनुभयो । शक्ति समूहका पूर्व अध्यक्ष चरीमाया तामाङले नेपाल र भारत दुवै देशमा नेपालीहरू असुरक्षित भएको विषयलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा गम्भीर हुन आग्रह गर्नुभयो । कार्यक्रममा कार्यतास इण्डिया कलकत्ताका आशा रुस्लिन, भारतीय सीमा नाका प्रहरी अधिकारी, भारतमा रहेर मानव बेचबिखन विरुद्ध काम गर्ने सङ्घसंस्थामा आबद्ध प्रतिनिधिहरू लगायतको सहभागिता रहेको शक्ति समूहकी निर्मला पौडेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्