प्रतिपक्षीबाट आजपनि सरकारको ध्यानाकर्षण
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका प्रतिपक्षी दलका सासदहरुले यसअघिका बैठकमा उठाएका विषयहरू सरकारले बेवास्ता गरेको भन्दै संसद्को पुनः ध्यानाकर्षण गराएका छन् ।
एमालेका सांसद गोकुल बास्कोटाले बालकुमारी घटनालगायत विभिन्न घटनामा संलग्न मन्त्रीहरूका विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनु पर्ने बताउनुभयो ।
संसदमा प्रतिपक्षी दलका सांसदहरुले बालकुमारी घटनाबारे यथार्थ पत्ता लगाएर दोषीलाई कारबाहीको गर्नु पर्ने, लुम्बिनीस्थित रामग्राम क्षेत्रलाई भाडामा लगाउने गरी भएको सम्झौता र मिटरब्याजपीडितहरुले काठमाडौँमा गरिरहेको प्रदर्शनलगायतका विषयमा सरकारसँग जवाफ माग गर्नुभएको छ ।
बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले मिटर ब्याज, लघुवित्त पीडित र दुग्ध किसानहरूको समस्या तत्काल सम्बोधन नभए संसद्को आगामी बैठक अवरुद्ध गर्ने राप्रपाको चेतावनी दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुखबाट रुलिङ भइसकेको र आफूलाई लागेको आरोपका विषयमा सदनमा आएर मन्त्रीहरूले स्पष्ट पार्न नसकेको विषमा प्रश्न गर्नुभयो ।
बैठकमा सभामुख देवराज घिमिरेले सबै प्रतिपक्षी दलका सांसदहरूलाई आसन ग्रहण गरेर बैठक सञ्चलन गर्न आग्रह गर्नुभएको थियो ।
सभामुख देवराज घिमिरेले संसद्को बैठकलाई नियमित प्रक्रियामा लगेर विधिवत् ढङ्गबाट सञ्चालन गर्न सांसद र सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
सभामुख घिमिरेले प्रतिपक्ष दलहरूले यसअघिका बैठकमा उठाएका मागहरू सम्बोधन गर्न रुलिङ भइसकेको उल्लेख गर्दै हरेक दिन एउटै विषयमा निर्देशन दिइरहनु आवश्यक नरहने बताउनुभयो ।
सभामुखको आग्रह पश्चातपनि सरकारको जवाफ माग गर्दै प्रमुख प्रतिपक्षी लगायतका प्रतिपक्षी दलका सांसदहरुले उठेर नाराबाजी गरेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभयो ।
प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्