तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा १ लाख ६५ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइँदै 

नेपालगन्ज । बाँकेमा १ लाख ६५ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइँदै छ । 

यही फागुन १३ गतेदेखि दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान सुरु हुने भएको छ । 

९ महिनादेखि १५ वर्ष उमेर समूहका १ लाख ६५ हजार ५६६ जना बालबालिकालाई फागुन ३० गतेसम्म दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश बाबु श्रेष्ठले बताउनुभयो ।

राप्तीसोनारीमा १८ हजार ६६१ जना, कोहलपुर नगरपालिकामा २५ हजार ७१३ जना, बैजनाथ गाउँपालिकामा १९ हजार २२३ जना बालबालिकालाई दादुरा–रुबेला खोप दिने लक्ष्य छ । 

त्यसैगरी जानकी गाउँपालिकामा १८ हजार १४९, नेपालगन्ज उपमहानगरपालिकामा ४२ हजार २७० जना, डुडुवा गाउँपालिकामा १३ हजार ७५५ जना र नरैनापुर गाउँपालिकामा १३ हजार ७७६ जना बालबालिकालाई यो अभियानमा समेट्ने स्वास्थ्य कार्यालयको लक्ष्य छ । 

९ महिनादेखि ५ वर्ष मुनिका ४८ हजार ८०१ जना र ५ वर्षदेखि १५ वर्ष मुनिका एक लाख १६ हजार ७६५ जना बालबालिकालाई खोप लगाइने श्रेष्ठले बताउनुभयो  । त्यसका लागि १ हजार २९६ जना स्वास्थ्यकर्मी खटिनेछन् भने १ हजार २७३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरू परिचालन हुनेछन् । 

त्यसैगरी ४०५ जना विद्यालय शिक्षकहरू पनि परिचालन गरिनेछ । यो अभियान फागुन ३० गतेसम्म चल्नेछ । 

बाँकेमा गत वर्ष दादुरा–रुबेलाका कारण केही बालबालिकाले ज्यान गुमाएका थिए भने सयौँ बालबालिका संक्रमित भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button