तपाईँ सुन्दै हुनुहुन्छः

सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूल मन्त्र : गृहमन्त्री श्रेष्ठ

नेपालगन्ज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूल मन्त्र भएको बताउनुभएको छ ।

नेपालगन्जमा आज आयोजित पत्रकार भेटघाट तथा नागरिक समाजसँग अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री श्रेष्ठले वर्तमान सरकार राष्ट्रिय सुरक्षा र राष्ट्रिय एकतालाई बलियो बनाउने कार्यभारलाई पनि केन्द्रमा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले विकास र समृद्धिको यात्रामा फड्को मार्ने गरी काम गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो । गृहमन्त्री श्रेष्ठले समाजमा देखिएका समस्या पहिचान गरेर समाधानको मोडेल तय गरिएको जानकारी दिँदै वर्तमान सरकारले सुशासनको पक्षमा नयाँ ढंगले अडिग भएर काम गरिरहेको बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार, अपराध र सामाजिक अन्यायका विरुद्ध सरकार शून्य सहनशीलताका अघि बढेको बताउनुभयो । सुशासनको अभाव भएकाले यसअघि देशले फड्को मार्न नसकेको बताउँदै उहाँले अब तमाम बेथिति र अनियमितता विरुद्ध विश्राम नहुने प्रष्ट पार्नुभयो । श्रेष्ठले दोषी, अपराधी र गलत गर्ने जोसुकैलाई सरकारले नछाड्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले नेपालगन्जमा सम्पन्न दुई दिने सुरक्षा गोष्ठीमा शान्ति सुव्यवस्था कायम गर्ने विषयमा व्यापक र गम्भीर छलफल गरिएको जानकारी दिनुभयो । लुम्बिनी प्रदेश तथा प्रदेशका १२ वटै जिल्लाको सुरक्षा अवस्थाबारे छलफल गरेर थप रणनीति तय गरिएको गृहमन्त्री श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button