अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधिको मस्यौदा पेश गर्न समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले सशस्त्र द्वन्द्वमा घाइते, अपाङ्गता भएकाहरूको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधिलाई परिमार्जित मस्यौदा पेश गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित आज मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि, २०७४ को अध्ययन गरी परिमार्जित मस्यौदा पेश गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा सरोकारवाला प्रतिनिधि समेत रहेको समिति गठन गर्ने निर्णय भएको बताउनुभयो ।
सञ्चार मन्त्री शर्माले श्रीलङ्कामा कैदी जीवन बिताइरहेका नेपाली नागरिकहरू चेतबहादुर थापा, सुकबहादुर तामाङ र टेकबहादुर तामाङको सजाय मानवीय आधारमा आममाफीका लागि राष्ट्रपतिबाट श्रीलङ्काका राष्ट्रपतिलाई अनुरोध पत्र पठाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जानकारी गराउनुभयो ।
यस्तै, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्रसारण बाह्रौँ संशोधन नियमावली २०८०, प्रोवेशन तथा प्यारोल सम्बन्धी नीति २०८० स्वीकृत गर्ने र विद्युतीय सुशासन आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
नेपाल र अस्ट्रेलियबीच हुने ट्रेड एण्ड इन्भेस्टमेन्ट फ्रेमवर्क एरेञ्जमेन्टको मस्यौदा स्वीकृत गर्ने, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको कर्मचारी सेवा सर्त नियमावली २०८० स्वीकृत गर्ने लगायतका निर्णयहरू मन्त्रिपरिषद् बैठकले गरेका छन् ।
निर्णयहरुको पूर्णपाठ







प्रतिक्रिया राख्नुहोस्