तपाईँ सुन्दै हुनुहुन्छः

कागेश्वरी मनोहरा पर्यटन महोत्सव फागुन ७ गते हुने

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले धार्मिक, सांस्कृतिक, पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही फागुन ७ गते ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ आयोजना गर्ने भएको छ । 

नगरपालिकाले आज यहाँ पत्रकार सम्मेलन गरी यस वर्ष कागेश्वरीधाममा हुने १०औँ महोत्सवमा स्थानीय कृषि उत्पादन, कला, संस्कृति, धार्मिक तथा सामाजिक रीतिरिवाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकूद लगायतका क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्नेगरी रचनात्मक कार्यक्रम गर्न लागेको जनाएको छ । 

नगर प्रमुख उपेन्द्र कार्कीले धार्मिक, पर्यापर्यटन र खेलकुदका हिसावले अत्यन्त सम्भावना रहेको कागेश्वरी मनोहरा नगरपालिकाका सबै वडाध्यक्षको संयोजकत्वमा विभिन्न विषयगत उपसमिति गठन गरी महोत्सव तयारी गरिरहेको जानकारी दिँदै उपस्थितिका लागि सबैसँग अनुरोध गर्नुभयो । 

महोत्सवका अवसरमा राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसहित स्थानीय कृषि उत्पादन मेला, शैक्षिक तथा सांस्कृतिक प्रदर्शनी, भजनकीर्तन, स्वास्थ्य शिविर, पर्यापर्यटन, नवप्रवर्द्धनात्मक गतिविधि र उद्यमशीलताको विकास एवं प्रवर्द्धनसँग सम्बन्धित कार्यक्रम हुने प्रमुख कार्कीले बताउनुभयो । 

महोत्सवमा छिमेकी गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकासहित ५० हजार काठमाडौँ उपत्यकाबासीको उपस्थिति हुने अपेक्षा गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले २०७२ सालदेखि नियमित रूपमा महोत्सव आयोजना गर्दै आएइको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button