सरकार जनतामा आशा जगाउन सफल : उपमहासचिव पुन
कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले जनतामा आशा जगाउने काम गरेको बताउनुभएको छ ।
पोखरामा आज प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सरकार गठनपछि सुशासनको प्रयत्न भएको र राज्यका सबै अङ्ग सुशासन स्थापनामा केन्द्रित भएकाले यसबाट जनतामा आशा र उत्साह बढाएको उल्लेख गर्नुभयो ।

सरकारले हुन्डी, क्रिप्टोकरेन्सी लगायतको कारोबारमा कडाइ गरेपछि औपचारिक च्यानलबाट विदेशबाट पैसा आउँदा विदेशी मुद्रा सञ्चिति बढेको उहाँले उल्लेख गर्नुभयो ।
नेता पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणअघि लागि समाजका सबै तह र तप्कामा व्यापक छलफल गरी प्राथमिकता निर्धारण गरिने बताउनुभयो ।
नेता पुनले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताउनुभयो । निर्वाचन प्रणालीले गठबन्धन अनिवार्य गरेकाले राजनीतिक स्थायित्वका लागि गठबन्धन कायमै रहने उहाँले उल्लेख गर्नुभयो ।
पार्टीको हालै सम्पन्न विधान अधिवेशनले वडा तहसम्म छलफल गरेर सुझावसहित विधानमा परिमार्जन गरिएको बताउनुभयो । अब विधानअनुसार पार्टी सञ्चालनको वातावरण बनाएको नेता पुनले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्