प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि षडानन्दलाई
धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिकामा सम्पन्न चौथो प्रकाश थापा स्मृति कप प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ ।

सहिदभुमिको वडा नम्बर एक घंघरुमा शनिबार सम्पन्न फाइनल खेलमा षडानन्द नगरपालिका भोजपुरले झापाको दमक नगरपालिकालाई पराजित गर्दै उपाधि जितेको हो । फाइनल खेलमा षडानन्दले दमकलाई २५–२२, २५–१५ र २५–२२ को सेटमा हराउँदै उपाधि जितेको हो ।
विजेता षडानन्द नगरपालिकाले उपाधिसँगै नगद एक लाख एक्काइस हजार एक सय एक्काइस रुपैयाँ हात पारेको छ भने उपविजेता दमक नगरपालिकाले ६५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

कोशी प्रदेशका नौ पालिकाको सहभागिता रहेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी षडानन्दका बालकुमार रायमाझी घोषित हुनुभयो । उहाँले नगद १० हजार रुपैयाँ हात पार्नुभयो । यस्तै उत्कृष्ट स्पाइकर षडानन्दकै कृष्ण रसाइली, उत्कृष्ट सरभर सभापोखरी गाउँपालिका सङ्खुवासभाका प्रदीप कट्टेल र उत्कृष्ट सेटर षडानन्दका जयराम खत्री घोषित हुनुभयो । उत्कृष्ट डिफेन्स बेलबारी नगरपालिका मोरङका लिला श्रेष्ठ, उत्कृष्ट ब्लकर दमकका रोमन बस्नेत र उत्कृष्ट कोच षडानन्दका कुमार कटुवाल घोषित हुनुभयो ।
विधागत उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरेको सहिद प्रकाश थापा स्मृति ट्रष्टका सचिव अर्जुन थापाले जानकारी दिनुभयो ।
विजयी खेलाडीहरूलाई कोशी प्रदेश आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
२०५७ सालमा तत्कालीन माओवादीसँगको कालिकोटमा भएको भिडन्तमा मृत्यु भएका प्रहरी नायब निरीक्षक प्रकाश थापाको सम्झनामा २०७६ सालबाट ट्रष्ट स्थापना गरी प्रतियोगिता हुँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्