तपाईँ सुन्दै हुनुहुन्छः

कलाकारहरू भाइरल होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोक सङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताउनुभएको छ । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीपनको सङ्गीत विकृतितर्फ लालायित हुँदै गएकोप्रति गम्भीर हुनुपर्ने बताउनुभयो । 

विविधतापूर्ण मौलिकतामा आधारित गीतसङ्गीतले निकै राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “दर्शक–स्रोतको मन जितेका कालजयी गीतहरू नेपालीको मन मुटु र जनजिब्रोमा झुण्डिएका छन् । तर, पछिल्लो समय ‘भाइरल’ हुने र ‘भ्यूज’ बढाउने नाममा ख्यातिप्राप्त राष्ट्रिय कलाकार समेत सांस्कृतिक विकृतितर्फ अग्रसर भएको अनुभूति हुन्छ । यसतर्फ कलाकर्मीहरू र सम्पूर्ण जनसमुदायहरू सचेत हुनै पर्छ ।”

‘भाइरल’ हुनु र लोकप्रिय एवं जनप्रिय हुनु एउटै कुरा नभएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले ‘भाइरल’को अर्थ सङ्क्रामक प्रसार हो, जुन राम्रो कुरा होइन भन्नुभयो । सार्वजनिक मेला महोत्सवहरूका कतिपय प्रस्तुतिहरू अत्यन्तै भद्दा, परिवार र साथीहरूसमेत सँगै बसेर हेर्न नसकिने खालका हुने गरेको गुनासो आउने गरेको बताउँदै उहाँले यस्ता गतिविधि निरुत्साहित गर्न आग्रह गर्नुभयो । 

पछिल्लो अधिवेशनबाट तपाईँहरूको प्रतिष्ठानले केही आन्तरिक विवाद र समस्याहरूको सामना गरिरहेको विषयसमेत आफूले जानकारी पाएको उल्लेख गर्दै प्रधानमन्त्रीले संस्थाहरू विवादको घेरामा तानिँदा आफ्नो प्राज्ञिकता, मौलिकता र सिर्जना मर्ने बताउनुभयो । उहाँले बढीभन्दा बढी सहमतिका साथ एकताबद्ध हुन र अन्य विषयहरूभन्दा लोक सङ्गीतको रक्षा र विकासमा नै केन्द्रित भएर अगाडि बढ्न आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button