तपाईँ सुन्दै हुनुहुन्छः

झुटो विवरण दिई नागरिकता लिन खोज्ने लाई ५० हजार जरिबाना

 इलाम  । इलाम जिल्ला अदालतले झुटो विवरण दिई नागरिकता लिन खोज्ने इलामका दुई जनालाई ५०र५० हजार जरिबाना फैसला गरेको छ । 

न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले इलामको सूर्योदय नगरपालिका–५ का ५० वर्षे भुवनसिंह गजमेर र २२ वर्षे चेतन गजमेरलाई यस्तो फैसला सुनाएको अदालतले जनाएको छ । भुवनसिंहले भतिजो चेतनलाई ‘आफ्नै छोरो हो’ भन्दै झुटो विवरण दिई नागरिकता बनाउन प्रयास गरेका थिए । 

उनीहरूले वडामा दिएको झुटो विवरणअनुसार नै वडाले गत असार १९ मा पशुपतिनगर सीमा प्रशासन कार्यालयमा नागरिकताका लागि सिफारिस गरेको थियो तर, स्थलगत सर्जमिनपछि चेतन भुवनको छोरा नभएको पाइएपछि असार २१ मा वडाले सीमा प्रशासनमा जानकारी गराएको थियो । 

वडाको जानकारीपछि सीमा प्रशासनले पशुपतिनगर प्रहरीलाई अनुसन्धानका लागि पत्राचार गरेपछि प्रहरीले असार २५ मा भुवनसिंह र चेतनलाई पक्रेको थियो । साउन १८ मा जिल्ला अदालतमा पेस गरिएका उनीहरूलाई साउन १९ मा १०/१० हजार रुपैयाँ धरौटी बुझाउन लगाइ तारिखमा राखिएको थियो । 

अदालतले उनीहरूको विवरणसहित नागरिकताका लागि सिफारिस गरेपनि पछि विवरण झुटो भएको थाहा पाएपछि प्रशासनमा जानकारी दिने वडा ५ अध्यक्ष उर्गेन बम्जनलाई भने सफाइ दिएको छ । 

जन्म दर्ताका आधारमा चेतन भुवनसिंहको छोरो हो भनी सनाखत गर्ने स्थानीय लीला विश्वकर्मा, शिरबहादुर कामी, कुमारी तामाङ, ललिता विश्वकर्मा र चन्द्रबहादुर घलेले पनि अदालतबाट सफाइ पाएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button