आर्मीलाई राष्ट्रिय भलिबलको उपाधि

रुपन्देही । रुपन्देहीको तिलोत्तमा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
बिहीबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३ शून्य को सोझो सेटमा हराउँदै आर्मीले उपाधि जितेको हो । एकपक्षीय भएको फाइनलमा आर्मीले गण्डकी २५–२१, २५–१८ र २५–२१ ले हराउँदै उपाधि जितेको थियो ।
नेपाल एपिएफ मणिमुकुन्द कपमा तेस्रो भएको थियो । अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३ शून्यको सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको हो । एपिएफले २५–२०,२५–२० र २५–१७ को सहज जित निकालेको थियो। सेमीफाइनलमा बुधबार गण्डकीले पुलिसलाई ३–२ ले र आर्मीले एपिएफलाई ३–० हराउँदै फाइनल भेट पक्का गरेका थिए ।
मणिमुकुन्द भलिबल क्लब, रुपन्देहीको आयोजना नेपाल भलिबल सङ्घको संयोजनमा प्रदेश खेलकुद परिषद्, लुम्बिनीले मुख्य प्रायोजन गरेको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीको सहभागिता थियो । प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले र १ लाख ५०, तेस्रोले १ लाख र चौथो टोलीले ५० हजार रुपैयाँ प्राप्त गरेका छन्। तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले विजयी समूहलाई पुरस्कार वितरण गरेका थिए ।






प्रतिक्रिया राख्नुहोस्