तपाईँ सुन्दै हुनुहुन्छः

‘चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व सङ्कलन नहुने’

काठमाडौँ । चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व सङ्कलन नहुने देखिएको छ ।

अर्थ समितिको आजको बैठकमा भएको छलफलमा आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षमा लक्ष्यको अधिकतम ८० प्रतिशतसम्म र भन्सार विभागले ७५ प्रतिशतसम्म राजस्व उठ्ने आँकलन गरेको जानकारी गराएको छ । 

सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब रुपैयाँको राजस्व उठ्ने अनुमान गरेकोमा मध्यावधि समीक्षामा राजस्व १२ खर्ब दुई अर्ब मात्रै उठ्ने आँकलन गरिएको छ ।

बैठकमा अर्थ मन्त्रालयका राजस्व सचिव रामप्रसाद घिमिरेले आयकर गत वर्षको तुलनामा बढेको कारण आर्थिक क्रियाकलापमा क्रमशः सुधारको सङ्केत देखिएको बताउनुभयो । 

बैठकमा सांसदहरुले राजस्व चुहावट र कर छली नियन्त्रणका लागि विशेष योजनाका साथ अगाडी बढ्नु पर्ने, राजस्व सङ्कलनलाई वैज्ञानिक र समयसापेक्ष बनाइनु पर्ने, राजस्व चुहावट नियन्त्रण गर्नु पर्ने, भन्सार कार्यालयहरूलाई प्रविधिमैत्री बनाइनु पर्नेमा जोड दिनुभयो ।

सांसदहरुले विद्युतीय सवारी साधनको आयात बढेको, पेट्रोलियम पदार्थ, घरजग्गा र शेयर कारोबार घटेको देखाएर राजस्व सङ्कलन कम भएको भनेर सरकार उम्कन नमिल्ने, पदीय जिम्मेवारीमा रहेका सबैले नतिजा दिने गरी काम गर्नुपर्ने, एक अर्कालाई आक्षेप लगाउँदै आफू उम्कने गरी कसैले पनि काम गर्न नहुनेमा समेत जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button