तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी गुरुयोजना पूरा गर्न रास्वपाका सभापति लामिछानेद्वारा लुम्बिनीमा पैदल यात्रा 

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका नेताहरू सहित करिब १० किमीको पैदल यात्रा गर्दै लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न दबाब दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रव्यापी दबाब अभियान अन्तर्गत लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि दबाब स्वरूप बुधबार पैदल यात्रा गरेको छ । 

लुम्बिनी गुरुयोजना क्षेत्र उत्तरतर्फको १२ नम्बर गेटबाट निर्माणाधीन संरचनाको अवलोकन गर्दै सांसद लामिछानेले शान्तिदीप, मायादेवी मन्दिरको दर्शन गर्दै दक्षिणतर्फको ६ नम्बर गेट हुँदै महिलवारचाेकसम्म पैदलयात्रा गर्नुभयो । 

महिलवारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै पार्टी सभापति लामिछानेले ४६ वर्षदेखि अलपत्र लुम्बिनी गुरुयोजना कुनै पनि बहानामा ढिलाई गर्ने छुट नरहेको बताउनुभयो । उहाँले गौतमबुद्धको पवित्र जन्मभूमिको नाममा कसैले बदमासी गर्न नहुने बताउँदै आफूहरूले गुरुयोजना कार्यान्वयनका लागि निरन्तर दबाब दिने र समाधान पत्र सरकारलाई बुझाउने बताउनुभयो । 

रास्वपाले लुम्बिनीको गुरुयोजना कार्यान्वयनका लागि बजेट अभाव हुन नदिन समेत आग्रह गरेको छ । पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेले मायादेवी मन्दिर अगाडि परेवा उडाउनुभएको थियो भने नवनिर्मित दियो बाल्ने सेडमा दिप प्रज्वलन गर्नुभएको थियो । यसैबिच लामिछानेले लुम्बिनी सांस्कृतिक नगरपालिका र सिद्धार्थनगर नगरपालिकाको पार्टी कार्यालयको समेत उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button