राष्ट्रिय महिला क्रिकेट: बागमती र सुदूरपश्चिम तथा गण्डकी र लुम्बिनी भिड्दै
नेपालगन्ज । बाँकेको कोहलपुरमा जारी सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुने भएका छन् । बागमती र सुदूरपश्चिम तथा गण्डकी र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
बिहान ९ः३० बजे हुने पहिलो खेलमा बागमती र सुदूरपश्चिम आमनेसामने हुनेछन् भने दिउँसो १ः३० बजे हुने दोस्रो खेलमा गण्डकी र लुम्बिनी प्रदेश बीच प्रतिस्पर्धा हुनेछ । यसअघि हिजो भएको खेलमा बागमती प्रदेश र कोहलपुर मेयर–११ विजयी भएका थिए । बागमती प्रदेशको पहिलो जीत हो भने कोहलपुर मेयर–११ को भने लगातार दोस्रो जीत हो । बागमती र कोहलपुर मेयर–११ प्रतियोगिताका उपाधि दाबेदार टिम हुन् ।
कोहलपुर नगरपालिकाको आयोजना, कोहलपुर नगर खेलकुद विकास समितिको व्यवस्थापन र नेपाल क्रिकेट संघ (क्यान) को सहकार्य र प्राविधिक सहयोगमा जारी प्रतियोगिता फागुन ३ गते सकिनेछ । प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक चिन्तामणी धितालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्