तपाईँ सुन्दै हुनुहुन्छः

गृह मन्त्रालय सुधार योजना बनाएर काम अगाडि बढाइएको छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय सुधार योजना बनाएर काम अगाडि बढाइरहेको बताउनुभएको छ । 

राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री श्रेष्ठले पूर्व सचिव एवं पूर्व राजदूत लीलामणि पौडेलको संयोजकत्वमा सुधार कार्यदल र त्यस अन्तर्गत पाँच वटा उपसमितिले सुधारका लागि काम गरिरहेको जानकारी गराउनुभयो । 

गृहमन्त्री श्रेष्ठले जेल सुधार, अध्यागमन, राष्ट्रिय परिचयपत्र, प्रशासन तथा कार्यालयको सेवा प्रवाह, विपद् व्यवस्थापन र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीमा सुधारको कार्य योजनासहित अगाडि बढेको बताउनुभयो ।

गृहमन्त्रालयले नेपाल प्रहरी ऐन निर्माणका लागि विधेयकको मस्यौदा छिट्टै संसद्मा दर्ता गर्ने तयारी गरिरहेको, समायोजन ऐन र नेपाल प्रहरी तथा प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण ऐनमा परिमार्जनको तयारी भइरहेको, एकीकृत निर्वाचन ऐनको मस्यौदा निर्माण गरिसकेको र यही अधिवेशनमा पेश गर्ने लगायतका विषयमा जानकारी गराउनुभयो ।

गृहमन्त्री श्रेष्ठले नेपाल भारतबीचको खुल्ला नाका व्यवस्थापनमा दुई देशबीच कूटनीतिक वार्ता गरेर समस्याको हल गर्नेतर्फ अगाडि बढ्ने बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले विमानस्थलको इमिग्रेसन राष्ट्रको सुरक्षा, पहिचान, प्रतिष्ठा, अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थतन्त्र लगायतका विविध क्षेत्रसँग जोडिएकाले इमिग्रेसनको सुधार गर्न सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो । 

भुटानी शरणार्थी, बासवारी जग्गा, राष्ट्रिय परिचयपत्रको विषयमा सांसदहरुले उठाएको प्रश्नमा गृहमन्त्री श्रेष्ठले सरकार राज्यका सबै अङ्गबाट भएका निर्णयलाई पालन गर्दै अगाडी बढेको, बासवारी जग्गा प्रकरणका विषयमा छानविन अगाडी बढ्ने, नक्कली शरणार्थी प्रकरणको थप प्रमाण नआएकाले अनुसन्धान खुल्ला राखेर अगाडी बढिरहेको स्पष्ट पार्नुभयो । 

गृहमन्त्री श्रेष्ठले राष्ट्रिय परिचयपत्रको औचित्य पुष्टि गर्न डाटा सेयरिङ सेन्टर बनाउने प्रक्रियामा सरकार अगाडी बढेको समेत जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button