तपाईँ सुन्दै हुनुहुन्छः

बाँके र बर्दियाको पर्यटन प्रवर्द्धन गर्न दुई दिने वृहत् साइकल यात्रा सुरु

नेपालगञ्ज । बाँके र बर्दियाको पर्यटन प्रवर्द्धन गर्न दुई दिने वृहत् साइकल यात्रा सुरु गरिएको छ । 

साइकल यात्रामार्फत पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउन विगत सात वर्षदेखि हुँदै आएको ‘टुर डे ठाकुरद्वारा” यसपटक आजदेखि सुरु गरिएको हो । 

आज बिहान प्रसिद्ध बागेश्वरी मन्दिर परिसरबाट साइकल यात्रा सुरु भएको छ । ‘टुर डे ठाकुरद्वारा’को नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले शुभारम्भ गर्नुभयो । 

भारतीय र चिनियाँ साइक्लिष्टहरु समेत सहभागी हुँदै आएको ‘टुर डे ठाकुरद्वारा’ मा यसपटक अझ उत्साह वर्द्धक उपस्थिति रहेको आयोजक नेपालगञ्ज साइक्लिङ क्लबले जनाएको छ । 

नेपालगन्जलाई साइकल सिटीका रुपमा विकास गर्दै यस क्षेत्रको पर्यटन  प्रवर्द्धन गर्न ‘टुर डे ठाकुरद्वारा’ले महत्वपूर्ण भूमिका खेलेको नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले बताउनुभयो । इभेन्ट डाइरेक्टर सतिस निरौलाका अनुसार दुई सय साइक्लिष्टहरु ‘टुर डे ठाकुरद्वारा’मा सहभागी भएका छन् । स्वदेशी र विदेशी साइकलयात्री नेपालगञ्जबाट बाँके र बर्दियाका विभिन्न भाग हुँदै ठाकुरद्वारा पुगेर शनिबार फर्किनेछन् ।  

दुई दिने उत्सव आयोजनाका लागि २७ लाख खर्च हुने अनुमान रहेको  इभेन्ट डाइरेक्टर निरौलाले बताउनुभयो । 

‘टुर डे ठाकुरद्वारा’लाई भव्यरुपमा सफल बनाउन बिहीबारदेखि नै साइकल उत्सव सुरु भएको नेपालगञ्ज साइक्लिङ क्लबले जनाएको छ । बिहीबार १० वर्षमुनिका बालबालिकाका लागि ‘साइकल रे’ को आयोजना गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button