रेडियो नेपालको स्थलगत बहस : मदरसा शिक्षालाई व्यवस्थित गर्न नीति बनाइँदै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले मदरसा शिक्षालाई व्यवस्थित बनाउन मदरसा नीति बनाउन थालेको छ ।
रेडियो नेपालको आयोजनामा आज नेपालगञ्जमा गरिएको स्थलगत बहस रेडियो कार्यक्रममा उपप्रमुख कमरुद्दिन राईले मदरसा शिक्षालाई व्यवस्थित गर्न मदरसा नीति बनाउन सुरु गरिएको बताउनुभयो ।
रेडियो नेपालका मुकुन्द भण्डारीले सहजीकरण गर्नुभएको रेडियो बहसमा उपप्रमुख राईले इस्लाम धर्माबलम्बीहरुको धार्मिक शिक्षा पढाइने मदरसामा धार्मिक तालिमसँगै सरकारले तयार गरेको पाठ्यक्रममा आधारित शिक्षालाई सँगसँगै जोडेर लैजान जरुरी रहेको बताउनुभयो ।

शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बजेट अभावले जनशक्ति व्यवस्थापनमा चुनौती देखिएको बताउँदै तीनै तहको सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।
मदरसाका प्रधानाध्यापक, शिक्षक, मदरसामा पढेका विद्यार्थी, अभिभावकलगायत सहभागीले बहसमा बजेट र दरबन्दी अभावलाई मुख्य समस्याको रूपमा औँल्याइएका छन् । नेपाल सरकार र नेपालगञ्ज उपमहानगरपालिकाले मदरसा शिक्षाका लागि सक्दो प्रयास गरेको भए पनि शिक्षक दरबन्दी र पर्याप्त बजेटको अभाव झेल्दै आएको उहाँहरूको गुनासो छ ।

बरकातिया माविका प्रधानाध्यापक मौलाना जियाउल मुस्तफा नुरानीले मदरसा शिक्षालाई व्यवस्थित बनाउन संवैधानिक मदरसा बोर्ड बनाउनुपर्ने बताउनुभयो । उहाँले मूल शिक्षा नीतिमै मदरसा शिक्षालाई समेटेर कार्य योजना तय गर्नुपर्नेमा जोड दिनुभयो । एकमुष्ट अनुदानले मदरसालाई नपुगेको भन्दै उहाँले यथेष्ट बजेट आवश्यक रहेकोमा जोड दिनुभयो ।
मुस्लिम समुदायकै उपप्रमुख राईले सहभागीहरूको जिज्ञासाको जवाफ दिँदै स्थानीय सरकारले आफ्नो साधन स्रोतले भ्याएसम्म सक्दो प्रयास गरिरहेको उल्लेख गर्नुभयो । शिक्षक राख्ने सामर्थ्य आफूहरूको नभएकाले सङ्घ र प्रदेश सरकारले यसलाई विशेष प्राथमिकता दिनुपर्ने भन्दै राईले मदरसाबाट गुणस्तरीय शिक्षा प्रदान गर्न उपमहानगरपालिका प्रयासरत रहेको बताउनुभयो ।

शिक्षा महाशाखा प्रमुख थापाले ‘मर्जर’को नीति लिएर मदरसाहरूको विकास गर्न सकिन्छ भन्ने कोणबाट पनि छलफल थालेको बताउनुभयो । धार्मिक शिक्षा भएकाले मुस्लिम समुदायसँग बसेर थप कार्यनीति बनाउने थापाको भनाई छ । उहाँले कम विद्यार्थी भएका ठाउँमा मदरसा घटाएर माध्यमिक तहको पढाई हुने मदरसाको सङ्ख्या बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो । तर, मदरसा मनसुलियाका प्रधानाध्यापक मेराज अहमदले ‘मर्जर’ सम्भव नहुने जिकिर गर्नुभयो । मुस्लिमभित्र पनि विभिन्न समुदाय हुने भएकाले ‘मर्जर’ सम्भव नभएको उहाँको तर्क छ ।
माध्यमिक तहसम्म मदरसा विद्यालयमै पढ्नुभएका अधिकारकर्मी साहिल अन्सारीले मदरसाका उत्पादन पनि राम्रो भएको भन्दै मदरसा शिक्षाप्रतिको आमधारणा बदल्न जरुरी रहेको बताउनुभयो । मदरसामा धार्मिक ज्ञान मात्र प्रदान गरिन्छ भन्ने भ्रम चिर्न आवश्यक रहेको अन्सारीको भनाई छ । उहाँले स्थानीय सरकारले मदरसा शिक्षाको विकासका लागि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । मदरसाकी पूर्व विद्यार्थी नुर राईले मदरसामा बालिका टिकाउने नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले उपप्रमुख राईसँग अन्य विद्यालयमै पनि मुस्लिम विद्यार्थीका लागि’नमाज’ पढ्ने वातावरण मिलाइदिन आग्रह गर्नुभयो । जबाफमा राईले विद्यालयको संरचना, अवस्था र विद्यार्थी सङ्ख्या हेरेर समन्वय गर्न सकिने बताउनुभयो ।

अभिभावक मोहम्मद हुसेन र मदरसाका पूर्व विद्यार्थी सलिम अहमद हलवाईले मदरसा विद्यालयमै ११ र १२ को पढाई पनि सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।
अर्का पूर्व विद्यार्थी मोहम्मद सलमान सल्मानीले मदरसाहरूले शुल्क पनि उठाइरहेको भन्दै उपमहानगरपालिकाको ध्यानाकर्षण गराउनुभयो । जबाफमा उपप्रमुख राईले मनोमानी शुल्क लिएको पाइएमा कारबाही गरिने बताउनुभयो ।
शिक्षक श्रीराम शर्माले मदरसाका शिक्षकहरूलाई स्थायी र बढुवा गर्ने नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकामा ३८ वटा मदरसा छन् । यी मध्ये २ वटामा कक्षा १० सम्म पढाई हुन्छ । एउटा आधारभूत तहको विद्यालय छ भने बाँकी प्राथमिक तहका विद्यालय हुन् ।








प्रतिक्रिया राख्नुहोस्