नवौँ डाँफे कप : उपाधिका लागि न्यु दर्पण र बाग्मती भिड्ने
नेपालगन्ज । बाँकेको खजुरामा जारी नवौँ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा न्यु दर्पण युवा क्लबले रेसिङ सहारालाई हराउँदै फाइनल प्रवेश गरेको छ ।

सोमबार खजुराको मिनि रंगशाला मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा ३–० को गोल अन्तरले न्यु दर्पण विजयी भएको हो । खेलको पहिलो हाफ सम्म कुनै पनि गोल हुन नसकेको खेलमा दोस्रो हाफको १३ औँ मिनेटमा न्यु दर्पण युवा क्लबका धनसिंह विकले पहिलो गोल गरे । लगतै २१ औँ मिनेटमा न्यु दर्पणका भुपेन्द्र शाहिले अर्को गोल गरेर टिमलाई थप अग्रता दिलाए । खेलको दोस्रो हाफको २६ औँ मिनेटमा पुन धनसिंह विकले थप अर्को गोल गरेका थिए । विकको थप गोल नै खेलको अन्तिम गोल रह्यो ।

म्यान अफ द म्याच न्यु दर्पणबाट दुई गोल गर्ने धनसिंह विक बने । प्रचार संयोजक खगेन्द्र दाहालका अनुसार म्यान अफ द म्याच घोषित खेलाडी विकले नेपालगन्जमा रहेको थोपा प्रयोगशालाको तर्फबाट नगद ११ सय प्राप्त गरे । म्यान अफ द म्याच थोपा प्रयोगशालाका सिइयो सुलभ आचार्यले प्रदान गरेका थिए ।
खेल संयोजक तिलक वीर सुनारका अनुसार माघ १५ गतेदेखि सञ्चालनमा रहेको नवौँ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको फाइनल २३ मङ्गलवार गते दिनको १ बजेदेखि सञ्चालन हुनेछ । न्यु डाँफे स्पोर्टस क्लबका अध्यक्ष हरि प्रकाश विकका अनुसार नवौं डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पाउने छन् ।
प्रथम पुरस्कार राशि हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी लिल बहादुर थापाले सौजन्य गरेका हुन । खेल प्रतियोगितामा उप विजेता हुने टिमलाई ८५ हजार ५ सय ५५ पाउने छन् । दोस्रो पुरस्कार प्रतीक निर्माण सेवाले सौजन्य गरेको खेल संयोजक तिलकवीर सुनारले बताए । साथमा विजेता र उप विजेता टिमलाई मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्तालाई पनि नगद २ हजार ५ सय रुपियाँ प्रदान गरिने क्लबका अध्यक्ष बिकले बताए । प्रतियोगितामा १४ टिमले भाग लिएका छन् । फाइनल खेल बाग्मती स्पोर्टस क्लब र न्यु दर्पण युवा क्लबबिच हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्