मकवानपुर गोल्डकप : आयोजकलाई टाई ब्रेकरमा पराजित गर्दै बागमती सेमिफाइनलमा
मकवानपुर । आयोजक मकवानपुर–११ लाई टाई ब्रेकरमा पराजित गर्दै बागमती युवा क्लब सर्लाही छैटौँ संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौँडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रङ्गशालामा आज भएको खेलमा बागमतीले मकवानपुरलाई टाई ब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरेको हो ।
निर्धारित समय २/२ को बराबरीमा समाप्त भएपछि खेल टाई ब्रेकरमा धकेलिएको थियो । टाई ब्रेकरमा गोलरक्षक रोनक चौलागाइकोे उत्कृष्ट प्रदर्शनका कारण बागमतीले अन्तिम चारमा स्थान बनाएको हो । टाई ब्रेकरमा बागमतीका तर्फबाट सिर्जन गौतम, आयुष रानामगर, निर्मल बल र अनिल मगरले गोल गरेका थिए ।
मकवानपुरका तर्फबाट अञ्जन विष्ट र स्टेफन समिरको प्रहार मात्र गोलमा परिणत भएको थियो । मकवानपुरका अमित तामाङको प्रहार बाहिरिएको थियो । खेलको म्यान अफ दी म्याच बागमतीका गोलरक्षक चौलागाँई घोषित भए । उनले नगद दश हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।
खेलको पहिलो हाफमा बागमतीका लागि अभी लामाले ४५ औँ मिनेटमा गोल गर्दै खेलमा अग्रता बनाएका थिए । एक गोलले पछाडि परेको हेटौँडाका लागि स्टेफन सामिरले ५५ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा फर्काए । त्यसपछि खेलको ८१ औँ मिनेटमा बागमतीका लागि अनिल राना मगरले गोल गरेका थिए । तर, खेल सकिन्न एक मिनेट बाँकी रहँदा मकवानपुरका लागि पुनः स्टेफनले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । बागमतीले अब सेमिफाइनलमा सशस्त्र प्रहरी र थ्री स्टारबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा आगामी माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भोलि त्रिभुवन आर्मी क्लब र राजारानी क्लब धनकुटाबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
मकवानपुरका स्थानीय तहहरूको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात पार्ने साथै विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने जनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्