नवौँ डाँफे कप फुटबल : बाग्मती फाइनलमा
नेपालगञ्ज । बाँकेको खजुरामा जारी नवौं डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आयोजक टिमलाई हराउँदै बाग्मती स्पोर्ट्स क्लब फाइनल प्रवेश गरेको छ । आज खजुराको मिनी रंगशाला मैदानमा भएको खेलमा न्यू डाँफेलाई २–१ गोल अन्तरले हराउँदै बाग्मती स्पोर्ट्स क्लबले फाइनलको यात्रा तय गरेको हो ।

८औँ डाँफे कपको उपाधि जितिसकेको बाग्मती स्पोर्ट्स क्लबले खेलको ९ मिनेटमा श्याम ब्यादीको गोलमा अग्रता लिएको थियो । पहिलो गोल गरेर खेललाई दबाबमा पारेको बाग्मतीविरुद्ध न्यु डाँफेका खेलाडी ओम प्रकाश चौधरीले २२औँ मिनेटमा गोल गरी बराबरीमा ल्याए । पुनः खेलको ३३ मिनेटमा बाग्मती स्पोर्ट्स क्लबका अर्का खेलाडी विमल क्षेत्रीले गोल गरेका थिए । विमलले गरेको गोल नै खेलको अन्तिम र निर्णायक गोल बन्न पुग्यो ।
खेलको म्यान अफ द म्याच बाग्मती स्पोर्ट्स क्लबका गोल किपर सुदिप शाही बने । प्रचार संयोजक खगेन्द्र दाहालका अनुसार म्यान अफ द म्याच घोषित खेलाडी गोल किपर शाहीले नेपालगञ्जमा रहेको थोपा प्रयोगशालाको तर्फबाट नगद ११ सय प्राप्त गरे । म्यान अफ द म्याच थोपालाई प्रयोगशालाका सुलभ आचार्यले पुरस्कार प्रदान गरेका थिए ।
खेल संयोजक तिलकविर सुनारका अनुसार भोलि दोस्रो सेमिफाइनल खेल न्यु दर्पण स्पोर्ट्स क्लब र रेसिङ्ग साहाराबीच हुनेछ । माघ १५ गतेदेखि सञ्चालनमा रहेको नवौं डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको फाइनल माघ २३ गते हुनेछ । न्यु डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष हरि प्रकाश विकका अनुसार नवौं डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पाउनेछ । उपविजेता टिमलाई ८५ हजार ५ सय ५५ दिइनेछ । प्रतियोगितामा १४ टिमले भाग लिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्