तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीको प्रतिबद्धतासँगै सिमेन्ट उद्योग सुधारको अपेक्षा

उदयपुर । देशकै सबैभन्दा ठूलो पूर्ण सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार अवलोकन गर्नुभएको उद्योग प्रशासनले जनाएको छ ।

दिनानुदिन सिमेन्ट उत्पादन घट्दै गएको र उद्योगका अधिकांश संयन्त्र जीर्ण बन्दै गएको अवस्थामा प्रधानमन्त्रीले अनुगमन गर्नुभएपछि उद्योग सुधार हुने अपेक्षा यहाँका नागरिकले गरेका छन् ।

उदयपुरको जलजलेमा स्थापना भई सञ्चालन हुँदै आएको उक्त उद्योग जीर्ण भएर बन्द हुन लागेको अवस्थामा प्रधानमन्त्रीले अवलोकन गर्नुभएपछि उद्योग पहिलाको क्षमताशील अवस्थामा फर्कने अपेक्षा स्थानीयले गरेका हुन् ।

उद्योगको अनुगमनपछि प्रधानमन्त्री दाहालले देशकै ठूलो सिमेन्ट उद्योगको संरक्षण तथा यसको सुधारका लागि सरकारले योजना बनाइरहेको भन्दै चाँडै योजना जारी गरेर नयाँ कार्यविधिबाट सञ्चालन गरिने बताउनुभएको उद्योगका महाप्रबन्धक खगेन्द्र बस्नेतले जानकारी दिनुभयो । उद्योगलाई सञ्चालन गर्न नयाँ योजना बनाइरहेको भन्दै यसलाई थप सबल बनाएर लान सरकार प्रतिबद्धता रहेको प्रधानमन्त्री दाहालले जनाउनुभएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री दाहालले उदयपुर सिमेन्ट उद्योगको संरक्षण गरी थप रोजगारीका अवसर सृजना गर्नुपर्ने भन्दै यसको सुधारका लागि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

उद्योग सुधारप्रति प्रधानमन्त्रीको सकारात्मक धारणाप्रति नेकपा एमाले प्रदेश सदस्य राजकुमार राईले भन्नुभयो, “दिनानुदिन जीर्ण बन्दै गइरहेको उद्योगलाई सुधार गर्न प्रधानमन्त्रीको प्रतिबद्धता आएकाले अब पहिलाको अवस्थामा आउनसक्ने सम्भावना बढेर गएको छ । यहाँका जनतामा आश जागेको छ ।”

त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत तथा कांग्रेस उदयपुर पार्टी सभापति हिमाल कार्कीले भन्नुभयो, “प्रधानमन्त्रीले उद्योग सुधारमा प्रतिबद्धता जनाउनुका साथै नयाँ योजनाअनुसार अघि बढ्ने बताउनुभएको थियो ।”

जिल्लास्थित नेकपा एमालेका अध्यक्ष परमेश्वर घिमिरे, माओवादी केन्द्रका सचिव किरण राई, स्वतन्त्र बुद्धिजीवी तथा त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटका पूर्व क्याम्पस प्रमुख रमेश रोका लगायतले प्रधानमन्त्री दाहालले दिनुभएको प्रतिबद्धतापछि स्थानीयमा उद्योगले पुनः जीवन पाउने आश जगाएको बताउनुभयो ।

विसं २०४४ मा जापान सरकारको सहयोगमा स्थापना भएको देशको सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगले विसं २०४७ देखि नियमित उत्पादन गर्न सुरु गरेको थियो ।

विसं २०५० देखि २०६७ सम्म उद्योगले दैनिक आठ सय मेट्रिक टन अर्थात् १६ हजार बोरा गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको थियो । विसं २०६७ देखि २०७४ सम्म उत्पादन क्षमता वृद्धि गरेर नौ सय मेट्रिक टन अर्थात् अठार हजार बोरा सिमेन्ट उत्पादन गर्दै आए पनि हिजोआज उद्योग जीर्ण हुँदै गएपछि महिनामा एक हप्ता राम्ररी सञ्चालन हुन सकिरहेको छैन ।

झन्डै पाँच सय श्रमिक र कर्मचारीले रोजगारी पाइरहेको उद्योगले दैनिक २० लाखदेखि २५ लाखको सिमेन्ट उत्पादन गरेर आम्दानी गर्दै आएको प्रशासन बताउँछ । एक वर्षयतादेखि उद्योग सञ्चालनमा समस्या भइरहेको, अधिकांश मेसिनरी सामान जीर्ण अवस्थामा रहेका, व्यवस्थापन लगायत काममा समस्या आइरहेको उद्योगका कर्मचारी तथा मजदुर बताउँछन् ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button