तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा ग्यास गिजर प्रयोग गरी नुहाउने क्रममा एकजनाको मृत्यु

मकवानपुर । हेटौँडामा ग्यास गिजर प्रयोग गरी नुहाउने क्रममा एकजनाको मृत्यु भएको छ । हेटौँडा–९, लामसुरेमा सोमबार ग्यास गिजर प्रयोग गरेर नुहाउने क्रममा २१ वर्षीय युनेश काफ्लेको मृत्यु भएको हो ।

सोमबार दिउँसो १२ बजेको समयमा घरकै बाथरुममा ग्यास गिजर प्रयोग गरी तातो पानीले नुहाउने क्रममा लामो समय बाथरुमबाट युनेश ननिस्किएपछि परिवारका सदस्यले बाथरुमको ढोका फुटाएका थिए । हेटौँडा–९, का वडा अध्यक्ष सुकराम केसीका अनुसार अचेत अवस्थामा बाथरुममा भेटिएका युनेशलाई हेटौँडा–१ स्थित मकवानपुर सामुदायिक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका हुन् ।

यस्तै मकवानपुरको भीमफेदीमा गुडिरहेको सुमोमा ढुङ्गा खस्दा एक जना यात्रु घाइते भएका छन् । कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी–८ बगुवामा काठमाडौँबाट सर्लाही तर्फ जाँदै गरेको ना १ ज ५९४३ नम्बरको टाटा सुमोमा सडक माथिबाट ढुङ्गा खसी सुमोको झ्यालको सिसा फुट्दा सुमोमा सवार वतन नखुलेको अन्दाजी ३० वर्षीया महिला घाइते भएको प्रहरीले जनाएको छ । टाउकोमा चोट लागि महिलाको अवस्था गम्भीर रहेको र उपचारको लागि हेटौडा ल्याउँदै गरेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश साहले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button